पाेखरा । मदन पुरस्कार गुठीको भदौ ६ गते बसेको साधारण सभाले वर्ष २०८१ का लागि प्रतिष्ठित पुरस्कारहरूको घोषणा गरेको छ। सो अवसरमा लोक-संस्कृति क्षेत्रमा विगत पाँच दशकदेखि सक्रिय श्री प्रेमदेव गिरीज्यूलाई “लोक भाका सङ्कलन र संरक्षणमा विशिष्ट योगदान” गरेबापत जगदम्बा-श्री पुरस्कार प्रदान गर्ने निर्णय भएको छ।
साथै, वर्ष २०८१ मा प्रकाशित पुस्तकहरूमध्येबाट श्री छुदेन काविमोज्यूको लिखित “उरमाल” लाई मदन पुरस्कार २०८१ का लागि चयन गरिएको छ। यस वर्षका लागि पुरस्कारका लागि जम्मा २९९ पुस्तकहरू प्राप्त भएका थिए। तीमध्ये सात पुस्तकलाई ‘मदन पुरस्कार श्रेष्ठ सूची २०८१’ मा राखिएको थियो: उरमाल (छुदेन काविमो),छालबाटो कैलाशदेखि गङ्गासम्म (रमेश भुसाल),दर्जु संलाप (कुमारी लामा),पञ्चतत्त्वको पालाम (मनप्रसाद सुब्बा),बहुरुपी (श्रेयज सुवेदी),भिक्षु, व्यापार र विद्रोह: नेपालको भोट-चीन सम्बन्ध र भारत (सुधीर शर्मा),हिउँको गीत (तीर्थ गुरुङ)
वि.स २०१२ मा स्थापना भएकाे मदन पुरस्कार पहिलोपल्ट गद्य विधामा श्री सत्यमोहन जोशीको हाम्रो लोक संस्कृति, सामाजिक शास्त्रमा श्री चित्तरञ्जन नेपालीको जनरल भीमसेन थापा तथा विज्ञान विधामा श्री बलराम जोशीको अधिकविभव स्थिरविद्युत् उत्पादक पुस्तकलाई पुरस्कार प्रदान गरिएको थियो।
जगदम्बा-श्री पुरस्कार भने रानी जगदम्बा स्मृतिमा २०४५ सालमा स्थापना भएको हो। यो सम्मान पहिलोपटक श्री नारायण गोपाललाई प्रदान गरिएको थियो।
मदन पुरस्कार र जगदम्बा-श्री सम्मान नेपाल तथा विदेशमा नेपाली भाषामा प्रकाशित पुस्तकहरू र नेपाली भाषा, साहित्य तथा संस्कृतिमा योगदान गर्ने व्यक्तिहरू/संस्थाहरूलाई प्रदान गरिन्छ।
