सुचना१
newa srijana

नेपालमा धार्मिक पर्यटनको ठूलो सम्भावना, एक करोड पर्यटक भित्र्याउन सकिने

पोखरा । चतरा धाम बराहक्षेत्रका जगतगुरू रामानन्द स्वामी रामाकृष्णाचार्यले नेपालमा धार्मिक पर्यटनको अपार सम्भावना रहेको बताएका छन्।

पोखरामा आयोजित धार्मिक पर्यटन प्रवर्द्धनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, प्रचार–प्रसार र पूर्वाधार विकासमा जोड दिँदा वार्षिक एक करोडभन्दा बढी पर्यटक भित्र्याउन सकिने विश्वास व्यक्त गरे।

स्वामी रामाकृष्णाचार्यले विश्वभरि दुई अर्बभन्दा बढी मानिस नेपालको धार्मिक आस्थासँग जोडिएको र त्यसमध्ये एक अर्ब १८ करोड हिन्दुहरू नेपाललाई सनातन राष्ट्रको रूपमा हेर्न चाहेको बताए। उनका अनुसार यीमध्ये केही प्रतिशत पर्यटक मात्रै आकर्षित गर्न सकियो भने पनि नेपालमा एक करोड पर्यटक भित्र्याउन चुनौती हुने छैन।

पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरि भुजेलले पोखरामा ऋषिमुनि रामानन्द स्वामीलाई स्वागत गर्दै

उनले विशेष रूपमा भारतसँगको सिमाना जोडिएका उत्तर प्रदेश र बिहारका जिल्लाहरूमा केन्द्रित हुनुपर्ने बताए। ती क्षेत्रका केही प्रतिशत हिन्दु पर्यटक मात्रै नेपालतर्फ डोर्‍याउन सकियो भने पर्याप्त हुन्छ उनले भने। मुक्तिनाथ र पशुपतिनाथजस्ता तीर्थस्थलप्रति भारतीयहरूको गहिरो आस्था रहेको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यी मन्दिरहरूको पटक–पटक दर्शन गरेको उदाहरण दिँदै उनले नेपालको राजनीतिले यसको महत्व नबुझेको गुनासो गरे।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले नेपालभर छरिएका शक्तिपीठ र धार्मिक स्थलहरूले धार्मिक पर्यटनको ठूलो अवसर सिर्जना गरेको उल्लेख गरे। उनले सन् २०१९ को तथ्यांकअनुसार नेपाल भित्रिने धार्मिक पर्यटकमध्ये अधिकांश भारतीय थिए र उनीहरूको संख्या उल्लेख्य रहेको बताए। लामिछानेका अनुसार नेपाल–भारतबीचको खुला सीमाले यस्ता पर्यटक भित्र्याउन सहज बनाउँछ।

अनन्त श्री विभूषित जगतगुरू रामानन्द स्वामी रामाकृष्णाचार्य महायोगी सिद्धबाबा ज्यू

कार्यक्रमको अध्यक्षता पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले गरेका थिए भने परिषदका पूर्व अध्यक्ष सुन्दर कुमार श्रेष्ठ र सञ्चारकर्मी विश्वप्रकाश प्रसाईँले धार्मिक पर्यटन प्रवर्द्धनका विषयमा आफ्नो दृष्टिकोण राखेका थिए।

छलफलमा सहभागीहरूले धार्मिक पर्यटन प्रवर्द्धनका लागि स्पष्ट नीतिगत र व्यावहारिक कदम चाल्न आवश्यक रहेको बताएका छन्। कार्यक्रमको सञ्चालन पोखरा पर्यटन परिषदका महासचिव जीवनराज सापकोटाले गरेका थिए।

Sadak 1
पुल सेन्टर