पोखरा । नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेशले कास्कीका पत्रकारसँग बिमा सम्वन्धि छलफल तथा अन्तरक्रिया गरेको छ । बिमाको आवश्यकता र महत्वलाई विशेष प्राथमिकतामा राखेर प्राधिकरणले मंगलबार नेपाल पत्रकार महासंघ कास्कीका प्रत्रकारसँग छलफल तथा अन्तरक्रिया गरेको हो ।
बिमाको विषयमा जानकारी सहितको प्रस्तुती रहेको अन्तरक्रियामा बिमासँग सम्वन्धित बिमित कम्पनिका प्रतिनिधिहरु र कास्कीमा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरुको उपस्थिति रहेको थियो ।
अन्तरक्रियामा नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख शम्भु प्रसाद मिश्रले बिमा र गण्डकी प्रदेशको अवस्थाका विषयमा प्रस्तुती राखेका थिए । आर्थिक दायित्वबाट सुरक्षित रहन र जोखिम हस्तान्तरण गर्न बिमाको उपयोग सबैले गर्नुपर्ने उनले सुझाए ।

साथै बिमाको महत्व निकै ठुलो रहेको हुँदा बिमाको बारेमा सञ्चारकर्मीले प्रचारप्रसार गरि आम सर्वसाधारणसम्म जानकारी पुराईदिन समेत मिश्रले आग्रह गरे ।कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले आम जनतामाझ बिमाको विषय अझै बुझाउन नसकिएको तथा बिमालाई झण्झटरहित सेवामुखि बनाउनु पर्नेमा जोड दिए ।यता बिमाका विषयमा बिमितले भोगेका समस्याको विषयमा समेत सहभागिबाट आवाज उठेको थियो ।
भुक्तानी प्रक्रिया निकै झण्झटीलो भएकाले सेवालाई छिटो छरितो बनाउनुपर्ने जोड सहभागिको थियो ।अन्तरक्रिया कार्यक्रममा नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी पोखरा च्याप्टरका अध्यक्ष बद्रीनाथ पौडेल, नेपाल सर्भेयर एसोशियशन कास्कीका संयोजक बुद्धीराज अधिकारी, रामजी प्रसाद बराल, बिनोद सापकोटालगाएतले आफ्नो मन्तव्य राखेका थिए ।
प्राधिकरण गण्डकीका प्रमुख शम्भु प्रसाद मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कबिता पण्डेले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन प्राधिकरणका सहायक प्रथम बलराम लामिछानेले गरेका थिए ।
बिमा के हो, यसको आवश्यकता र महत्वलाई जनतामाझ सुसुचित गराउने अन्तरक्रियाको मुख्य उद्देश्य रहेको नेपाल बिमा प्राधिकरण गण्डकीले जनाएको छ ।





