सुचना१
newa srijana

पठन महोत्सवसँगै डायमण्ड स्कूलमा विद्यार्थीको सीप प्रदर्शन

पोखरा  । पोखरा–२७, तालचोकस्थित डायमण्ड सेकेन्डरी स्कूलमा माघ २२ गतेदेखि सुरु भएको तीन दिने पठन महोत्सव २०८२ को दोस्रो दिन आयोजित डायमण्ड मेला भव्य रूपमा सम्पन्न भएको छ।

“Read Today, Lead Tomorrow” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमअन्तर्गत पठन महोत्सव, डायमण्ड मेला र ३८औँ वार्षिक उत्सव समेटिएको छ।

पहिलो दिन औपचारिक उद्घाटन समारोहपछि राष्ट्रगान, विद्यालय प्रार्थना र १० मिनेटको सामूहिक वाचन कार्यक्रम सम्पन्न भएको थियो। प्रख्यात साहित्यकार डा. नवराज लम्सालको बुक टक शो र प्यानल छलफल गरिएको थियो भने कवि शिव त्रिपाठीको कविता वाचनले कार्यक्रमलाई अर्थपूर्ण बनाएको थियो।

नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूका लागि छुट्टै र कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूका लागि अर्को कार्यक्रम सञ्चालन गरिएको थियो। कक्षा स्तरअनुसार पुस्तक समीक्षा, कविता वाचन, परियोजना प्रस्तुति, समाचार वाचन, भाषा खेल, समूह वाचन र अभिभावक अनुभव आदानप्रदान जस्ता गतिविधि समानान्तर सत्रमार्फत सञ्चालन गरिएका थिए।

सिटीजन फनिच्रर

दोस्रो दिन आयोजित डायमण्ड मेला २०८२ मा शैक्षिक, खेलकुद र मनोरञ्जनात्मक स्टलहरू राखिएका थिए। वाटर फ्रन्ट रिसोर्टका रेसिडेन्ट म्यानेजर अमृत बी. के. प्रमुख अतिथिका रूपमा सहभागी कार्यक्रमको सभापतित्व हरिप्रसाद लामिछानेले गरेका थिए।

मेलामा ग्लिच ग्रुभ ब्यान्ड, डायमण्ड ब्यान्ड र डायमण्ड गर्ल्स ब्यान्डको सांगीतिक प्रस्तुति दर्शकको विशेष आकर्षण बनेको शिक्षक राजन परियारले जानकारी दिए।

कक्षा ११ र १२ का होटल म्यानेजमेन्ट संकायका विद्यार्थीहरूले मम:, चाउमिन, जुजु धौ, नेवारी खाजा, पेस्ट्रीलगायतका परिकारसहितका खाद्य स्टल सञ्चालन गरेका थिए। विद्यार्थीहरूद्वारा सञ्चालित खेल, हस्तकला र मनोरञ्जनात्मक स्टलहरूले मेलालाई जीवन्त बनाएको थियो। कार्यक्रम संयोजक अर्जुन अधिकारीका अनुसार मेलाबाट करिब ६ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

विद्यालयले तेस्रो दिन ३८औँ वार्षिक उत्सव र पुरस्कार वितरण समारोह आयोजना गर्ने जनाएको छ। विद्यालय प्रशासनले सबै अभिभावक, शुभेच्छुक र समुदायका सदस्यहरूलाई कार्यक्रममा उपस्थित भई विद्यार्थीहरूको उत्साहवर्धन गर्न आग्रह गरेको छ।

Tiger cup
वडा नं २६