newa srijana

स्याङ्जाका बजारमा ग्यास अनुगमन, नियम विपरीत कारोबार गर्ने डिलरलाई जरिवाना

मध्यपूर्वमा युद्धको मौका छोपेर कालोबजारी हुन नदिन स्याङ्जा प्रशासनले पुतलीबजारदेखि गल्याङसम्मका ग्यास डिलरको अनुगमन गर्दै नियम उल्लंघन गर्नेलाई तत्काल जरिवाना गर्यो।

पोखरा । स्याङ्जामा खाना पकाउने ग्यासमा कृत्रिम अभाव सृजना गरी उपभोक्ता ठग्ने र कालोबजारी गर्ने सम्भावनालाई रोक्न जिल्लाका प्रमुख बजारमा स्थानीय प्रशासनले अनुगमन गरेको छ । मध्येपूर्व एसियामा अमेरिका–इजराल र इरानबीच युद्ध चलेसँगै बजारमा ग्यासको कृत्रिम अभाव हुन नदिन अनुगमन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयको अगवाईम जिल्लाका प्रमुख व्यापारिक केन्द्रका ग्यास डिलर तथा पसलहरूको अवस्थाका बारेमा जानकारी लिन स्थलगत अनुगमन गरिएको छ । अनुगमन टोलीले जिल्लाका प्रमुख बजार पुतलीबजार, राङ्खोलाला, बयरघारी, वालिङ र गल्याङ्लगायत क्षेत्रका ग्यास बिक्रेताको पसलमै गएर ग्यासको अनुगमन गरिएको छ ।

टोलीले ग्यासको मौज्दात, वितरण प्रक्रिया र मूल्यबारे जाँच गरेको प्रशासनले कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीको नेतृत्वमा खटिएको संयुक्त अनुगमन टोलीले सिलिन्डरको तौल, परिमाण तथा बिक्री वितरण गर्दा अनिवार्य रुपमा बिलबिजक जारी गरिएको छ कि छैन भन्ने विषयमा समेत जाँचबुझ गरेको थियो ।

सिटीजन फनिच्रर

जाँचबुझ तथा अनुगमनका क्रममा नियम विपरीत कारोबार गरेको भेटिएका केही डिलरलाई तत्काल दण्डजरिवाना गरिएको प्रशासनले जनाएको छ । बजार क्षेत्रका व्यवसायीलाई पनि व्यवसायी तथा व्यापारिक मापदण्ड पालना गर्न निर्देशन दिँदै सचेत गराइएको सहायक प्रमुख जिल्ला अधिकारी सुबेदीले बताए ।

ग्यासको बजार अनुगमन टोलीमा एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक भिमबहादुर भण्डारी मगर, जिल्ला प्रशासन कार्यालयका लेखापाल रमेश विक र नायब सुब्बा बुद्धि प्रसाद शर्मा, उपभोक्ता मञ्च स्याङ्जाका अध्यक्ष राजेन्द्र मरासिनी र पत्रकारलगायतको सहभागिता रहेको थियो ।

अनुगमनपछि सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले जिल्लामा खाना पकाउने ग्यासको अभाव नभएको दाबी गरे । युद्धलाई देखाएर कृत्रिम अभाव सृजना गर्ने, महँगोमा बिक्री गर्ने वा अनावश्यक रूपमा ग्यास थुपारेर राख्ने व्यवसायीलाई कडा कारबाही गरिने समेत उनले चेतावनी दिए ।

ग्यासको आपूर्ति श्रंखला नियमित रहेकाले जिल्लामा तत्कालै ग्यासको अभाव नहुने जनाएको प्रशासनले उपभोक्तालाई निर्वाध रुपमा ग्यास उयभोग गर्न आग्रह गरेको छ । उपभोक्ताको हित संरक्षणका लागि जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरुमा अनुगमन गर्ने कार्यलाई नियमित र निरन्तरता दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अनिल multipurpose