newa srijana

२१औँ नेपाल ओपन प्याराग्लाइडिङ सम्पन्न, पुरुषतर्फ भारत महिलातर्फ चीन अग्रस्थानमा

पोखरा । पोखरामा सम्पन्न २१औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप–२०२६ मा पुरुषतर्फ भारतका अक्षय कुमार र महिलातर्फ चीनकी कोङ जियाङ यान च्याम्पियन बने ।

नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा भएको यो प्रतियोगिता एफएआई २ क्याटेगरीअन्तर्गत एक्युरेसी विधामा सञ्चालन भएको थियो । पोखराको सराङकोटबाट उडान गरी खपौदीको निर्धारित बिन्दुमा अवतरण गर्ने यस विधामा कम अंक ल्याउने खेलाडी विजेता हुन्छन् । यो प्रतियोगिता चार वर्षपछि आयोजना गरिएको हो ।

पुरुषतर्फ अक्षय कुमार र चीनका झाउ चेन दुवैले समान ७ अंक ल्याए । प्राविधिक टिमको मूल्यांकनका आधारमा अक्षय कुमार प्रथम र झाउ चेन द्वितीय भए । भारतका इमान रुम्तेल ८ अंकका साथ तेस्रो भए । महिलातर्फ चीनकी कोङ जियाङ यानले ७ अंक ल्याउँदै उपाधि जितिन् । नेपालकी दुर्गामाया गुरुङ १२६ अंकका साथ दोस्रो र भारतकी श्रेयशी तामाङ १४९ अंकका साथ तेस्रो भइन् ।

टिम इभेन्टमा राहुल राई, अक्षय कुमार, मोहर सिंह र मनिष उप्रेती रहेको भारतीय टिम ‘फ्लाई भारकला’ ३८ अंकका साथ विजेता बन्यो । सोनाम लद्दाखी, अरुण जलारी, कृष्ण बहादुर क्षेत्री र गोपाल ठाकुर रहेको इन्डो–नेपाल संयुक्त टोली ६७ अंकका साथ दोस्रो र विष्णु तिमिल्सिना, सुमन जङ्ग थापा, रोशन बस्नेत र युवराज सुनुवार रहेको नेपाली टोली १०९ अंकका साथ तेस्रो भयो ।

नेपाली ओभरअल विधामा पुरुषतर्फ पवन परियार र अरुण जलारी समान ११–११ अंकका साथ क्रमशः पहिलो र दोस्रो भए भने रिखी पोडे १२ अंकका साथ तेस्रो भए । महिलातर्फ दुर्गामाया गुरुङ पहिलो, इशा राई ३५४ अंकका साथ दोस्रो र कृषु पौडेल ५२६ अंकका साथ तेस्रो भइन् ।

सिटीजन फनिच्रर

दशौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशबाट पाँच खेलाडी छनौट भएको प्राविधिक निर्देशक योगेश भट्टराईले जानकारी दिए । पुरुषतर्फ पवन परियार, अरुण जलारी र रिखी पोडे र महिलातर्फ दुर्गामाया गुरुङ र कृषु पौडेल छनौट भएका छन् । छनौट भएका खेलाडीलाई जनही १०–१० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र दिइयो । दशौँ राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनौट समेत भएको नाका प्रथम उपाध्यक्ष खेमराज आचार्यले जानकारी दिए ।

प्रतियोगिताको तेस्रो दिन शनिबार खराब मौसमका कारण खेल हुन सकेन । पाँच राउन्डमा खेलाडीले प्राप्त गरेको अंकलाई नै अन्तिम मानेर नतिजा घोषणा गरिएको प्राविधिक निर्देशक योगेश भट्टराईले बताए ।

पुरुष एकलतर्फ विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पाए । महिला एकलतर्फ विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पाए । टिम इभेन्टमा विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक देवचन्द्रलाल कर्ण, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्मा र नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले विजेतालाई पुरस्कार वितरण गरे । नाका अध्यक्ष अनिल केसीले आगामी वर्ष क्रसकन्ट्री विधासहित प्रि–वर्ल्ड कप पनि आयोजना गर्ने जानकारी दिए । प्रतियोगितामा नेपाल, भारत, इटाली, जर्मनी र चीनका ६२ खेलाडी सहभागी थिए ।

अनिल multipurpose