पोखरा । बैदेशिक रोजगार शाखा संरक्षण संघ, गण्डकी प्रदेश, पोखरा–कास्कीको आयोजनामा नववर्ष २०८३ सालको अवसरमा सञ्चालन गरिएको अन्तर–व्यवसायी कर्मचारी पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८२ सम्पन्न भएको छ।
प्रतियोगिताको पुरुष खुल्ला (ओपन) तर्फ एसबी गाइज प्रथम तथा ब्रदर युनाइटेड÷युनाइटेड ब्रोज (बी) द्वितीय भएका छन्। त्यस्तै भूतपूर्व (भेट्रान्स) तर्फ पोखरा भेट्रान्स (रातो) प्रथम बनेका छन्। महिला तर्फ फ्युचर स्टार प्रथम र पोखरा क्वीन्स द्वितीय स्थान हासिल गर्न सफल भएका छन्।
यसैगरी, प्रतियोगितामा उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि सम्मान गरिएको छ। उत्कृष्ट महिला खेलाडी आकृति थापा (आकु) घोषित भइन् भने महिला तर्फ उत्कृष्ट स्पाइकर अस्मिता थापा र पुरुष तर्फ उत्कृष्ट स्पाइकर सन्तोष पोख्रेल बने। प्रतियोगिताको उत्कृष्ट खेलाडी (सर्वश्रेष्ठ खेलाडी) को उपाधि विकास रेग्मीले प्राप्त गरेका छन्।

कार्यक्रमका अवसरमा आयोजक संस्थाका अध्यक्ष सुजन श्रेष्ठले प्रतियोगिताको सफलताप्रति खुशी व्यक्त गर्दै खेलकुदले मानिसहरूबीच एकता, सहकार्य र आपसी सम्बन्ध सुदृढ बनाउने बताए। उनले भने, “खेलकुद केवल प्रतिस्पर्धा मात्र होइन, यो स्वास्थ्य, अनुशासन र सामाजिक सद्भाव विकास गर्ने महत्वपूर्ण माध्यम हो। यस प्रतियोगिताले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई एकै ठाउँमा ल्याई आपसी सम्बन्ध अझ प्रगाढ बनाएको छ ।” अध्यक्ष श्रेष्ठले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण टिम, खेलाडी, व्यवस्थापक, समर्थक, निर्णायक मण्डल, प्राविधिक टोली, स्वयंसेवक तथा प्रायोजकहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
प्रतियोगितामा विभिन्न व्यवसायसँग आबद्ध टिमहरूको उत्साहजनक सहभागिता देखिएको थियो । सहभागी टिमहरूले प्रदर्शन गरेको अनुशासन, खेल भावना तथा आपसी सद्भावले प्रतियोगितालाई भव्य, सभ्य र प्रतिस्पर्धात्मक बनाएको आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
“खेलकुदमार्फत स्वास्थ्य, एकता र सहकार्य” भन्ने मूल भावनासहित सम्पन्न उक्त प्रतियोगिताले सहभागीहरूबीच आपसी सम्बन्ध थप मजबुत बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ।




