पाेखरा। चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयाेजनामा कास्कीकाे पर्यटकीय गाउँ ल्वाङमा सिनेमा संवाद अन्तरगत शुक्रबार सिनेमा साँझ भव्यरूपमा सम्पन्न भएको छ।
सिनेमाका कलाकार, पत्रकार, ल्वाङवासीकाे उल्लेखनीय उपस्थितिमा पहिलोपटक ल्वाङमा भएको सिनेमा साँझ साँच्चिकै यादगार रह्याे। पाेखरेली ब्याण्डकाे विशेष प्रस्तुति रहेकाे उक्त साँझमा स्थानीय आमा समूहले समेत नृत्य पस्केका थिए ।
पाेखरेली ब्याण्डका तर्फबाट गायक सन्ताेष बस्याल, गायिका प्रिया गुरूङका आधा दर्जन गीत प्रस्तुतिमा दर्शकले छमछमी नाचेर साथ दिए । उनीहरूले सिनेमाका पुराना तथा सदाबहार गीत गाएर दर्शकलाई विगतमा फर्काउने काेसिस गरे ।

आयाेजक चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष समेत रहेका सन्ताेषले एकल स्वरमा के भन्ने हाम्राे समय…, बादल जस्तै उडि गयाे…, गीत गाउँदा अभिनेता निखिल उप्रेतीले उनलाई नाचेर साथ दिएका थिए । यस्तै, प्रियाले गैरीखेतकाे शिरै हान्याे…., तीनपाते डाँडा काटेर….जस्ता गीत निकै सुरिलाे स्वरमा गाइन्। साथै, युगल स्वरमा चट्ट रूमाल क्या मालुम…., मायाकाे बारीमा प्रीतिकाे फूल …., तिर्खा लाग्याे नीरमाया…., कान्छी हे कान्छी…, माेहनी लाग्ला है…. , न्याउली वनैमा…गीत गाएका हुन्।
सिनेमाकाे विगत, वर्तमान र भविष्य लगायत विभिन्न पक्षमा रहेर कलाकार, विज्ञ, सराेकारवाला निकायका प्रतिनिधिसँग छलफल गर्न संघले चाैथाे संस्करणको रूपमा ल्वाङमा सिनेमा संवाद लगेकाे हाे । यसअघि घान्द्रुक, सिक्केस र घलेगाउँमा यसप्रकारकाे कार्यक्रम भइसकेको संघ अध्यक्ष बस्यालले बताए ।
कार्यक्रम विभाग प्रमुख राकेश गुरूङकाे संयाेजनमा भएकाे कार्यक्रमकाे दाेस्राे दिन शनिबार विभिन्न चार सेसनमा सिनेमा संवाद हुनेछ । सिनेमा साँझकाे संचालन संघका सचिव सुरेश सुनारले गरेका थिए ।




