newa srijana

१० औं रारा पोखरा स्पोर्टस् अवार्डमा दृष्टिविहीन क्रिकेट खेलाडी सुस्मा तामाङलाई स्पेशल अवार्ड

पोखरा  । दशौं रारा पोखरा स्पोर्टस् अवार्डमा दृष्टिबिहीन क्रिकेट खेलाडी सुस्मा तामाङलाई स्पेसल अवार्ड प्रदान गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरामा भएको कार्यक्रममा पारा खेलाडी तामाङलाई उक्त अवार्ड प्रदान गरिएको हो । स्पेशल अवार्ड प्राप्त गर्ने तामाङलाई नगद ३५ हजार रुपैयाँको साथमा अवार्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । उनलाई पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, पोखरा रेबानका अध्यक्ष एवम् टेम्पल बेल बुटिक सेन्टरका सञ्चालक विश्वराज पौडेल, नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष प्रेमनारायण न्यौपानेले अवार्ड, नगद र प्रमाणपत्र अर्पण गरेका थिए ।

आँखामा बाहिरी उज्यालो नभए पनि दृढ आत्मबल र कडा परिश्रमका माध्यमबाट नेपाली क्रिकेटलाई विश्वस्तरमा चिनाउन सफल दृष्टिविहीन खेलाडी सुस्मा तामाङलाई दशौँ पोखरा स्पोट्र्स अवार्डमा ‘स्पेसल अवार्ड’ बाट सम्मान गरिएको हो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले उनको असाधारण खेल यात्रा र ऐतिहासिक उपलब्धिलाई कदर गर्दै यो सम्मान प्रदान गर्न गरेको हो ।

World link net

वि.सं. २०५८ साल कात्तिक १ गते लमजुङको बेसीसहर–४ मा जन्मनुभएकी तामाङले १२ वर्षको कलिलो उमेरदेखि नै क्रिकेटको ब्याट र बल समाउन सुरु गरेका थिए । जनप्रकाश माध्यमिक विद्यालयको होस्टलमा बसेर विद्यालय तहको शिक्षा पूरा गर्दा सुरु भएको उनको क्रिकेट यात्रा पृथ्वीनारायण क्याम्पसमा स्नातक पढ्दासम्म आइपुग्दा जिल्ला र प्रदेश हुँदै राष्ट्रियस्तरसम्म पुगेको थियो । विगत १३ वर्षदेखि क्रिकेटलाई नै आफ्नो जीवनको तपस्या मान्दै आउनुभएकी उहाँले पसिना र मेहनतले सफलताको बाटो कोरेका थिए ।

सुस्माको अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सन् २०१९ मा पाकिस्तान विरुद्धको खेलबाट सुरु भएको थियो । त्यसपछि सन् २०२३ मा घरेलु मैदानमा भारतसँगको प्रतिस्पर्धाले उनलाई थप निखार्ने अवसर दियो । उनको खेल जीवनको सबैभन्दा ऐतिहासिक मोड भने सन् २०२५ को विश्वकप बन्यो, जहाँ नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै विश्वकै ध्यान तान्न सफल भयो । भारतको दिल्लीबाट सुरु भई श्रीलङ्काको कोलम्बोमा पुगेर टुङ्गिएको उक्त यात्रामा नेपालले फाइनलसम्मको यात्रा तय गरी उपविजेताको इतिहास रच्यो । उक्त विश्वकपमा ‘बी वान’ क्याटगोरीमा जादुमयी प्रदर्शन गरेकै कारण सुस्मा तामाङले ‘प्लेयर अफ द सिरिज’ को प्रतिष्ठित उपाधि समेत हात पारेका थिए ।

दृष्टि नहुनुलाई कमजोरी होइन, केवल एउटा माध्यम मात्र ठान्ने सुस्माले ‘असली खेल त आत्मबलले खेलिन्छ’ भन्ने तथ्यलाई मैदानमा प्रमाणित गरिदिएकी छिन् । समाजमा दृष्टिविहीनले पनि क्रिकेट खेल्न सक्छन् र ? भन्ने प्रश्न गर्नेहरूलाई उनले आफ्नो क्षमता र विश्वकपको सफलतामार्फत गतिलो जवाफ दिएकी छिन् । चुनौतीका अनगिन्ती काँडाहरू पन्छाउँदै अघि बढ्नुभएकी तामाङले अझै पनि फरक क्षमता भएका खेलाडीहरूका लागि राज्यले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएकी छिन् । उनको यही अदम्य साहस र क्रिकेटप्रतिको समर्पणलाई सम्मान गर्दै खेलकुद पत्रकार मञ्च गण्डकीले उनलाई पुरस्कृत गरेको हो ।

 

सिटीजन फनिच्रर