पोखरा । गण्डकी मेडिकल कलेज मा बिनाअपरेशन पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ (ईन्डोस्कोपिक रेट्रोग्रेड कोलाञ्जियोप्यान्क्रियाटोग्राफी) सेवा सुरु गरिएको छ । पेट तथा कलेजो रोग विशेषज्ञ डा • शंकर बराल को नेतृत्वमा सेवा सञ्चालनमा ल्याइएको हो ।
जिएमसीका अनुसार यो प्रविधिबाट पेट नचिरिकन मुखमार्फत ड्युडेनोस्कोपी प्रयोग गरी पित्त नली र प्यानक्रियाज नलीसम्बन्धी समस्या उपचार गर्न सकिनेछ । इआरसीपी सेवाबाट जन्डिस, पित्त नली तथा प्यानक्रियाज क्यान्सर र पित्त नली साँघुरिने समस्याका बिरामीले सहज उपचार पाउने डा. बरालले बताए ।
उनका अनुसार यस प्रविधिले परम्परागत ठूलो शल्यक्रियाको आवश्यकता कम गर्नुका साथै बिरामीलाई कम पीडा र छिटो स्वास्थ्यलाभमा सहयोग पुग्नेछ ।

इआरसीपीसँगै जिएमसीको ग्यास्ट्रो विभागले एपिसी (APC), इसोफेजियल कार्सिनोमाका बिरामीका लागि मेटालिक स्टेन्टिङ, बेलुन डाइलेटेसन, पेग ट्युब प्लेसमेन्ट, पोलिपेक्टोमी तथा भेरिसेसका लागि ग्लु इन्जेक्सन सेवा पनि सुरु गरेको जनाएको छ ।
जिएमसीका प्रमुख कार्यकारी अधिकृत रविन्द्र श्रेष्ठ र मेडिकल सुपरिटेन्डेन्ट टुमाया घले ले नयाँ सेवाबाट गण्डकी प्रदेशका पेट, आन्द्रा, प्यानक्रियाज तथा कलेजोसम्बन्धी बिरामीले प्रदेशमै आधुनिक उपचार सुविधा पाउने बताए ।
उनीहरूका अनुसार इआरसीपीलगायतका सेवा सरकारको स्वास्थ्य बीमा कार्यक्रम तथा भारतीय पेन्सनरअन्तर्गत ईसीएचएस सेवामार्फत पनि उपलब्ध हुनेछ ।




