पोखरा । पोखराको लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रालि दोस्रो वर्षमा प्रवेश गरेको छ । प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा होटल निर्माण तथा स्थापनामा महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति, निर्माण कम्पनी, बैंकिङ साझेदार, काष्ठकर्मी, शिल्पकार, डिजाइनर तथा विभिन्न क्षेत्रका सहयोगीलाई नगदसहित सम्मान गरिएको छ ।
पोखरामा रहेका सयौं होटलबीच टेम्पल बेललाई फरक पहिचान दिलाउन सबैको साथ, सहयोग र समर्पणले महत्वपूर्ण भूमिका खेलेको संस्थाका अध्यक्ष विश्वराज पौडेलले बताउनुभयो । नेपाली काष्ठकला, ढुंगाकला र हस्तकलाको समिश्रणबाट निर्माण गरिएको यो होटल पोखराको नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित हुँदै गएको उहाँको भनाइ थियो ।
होटल निर्माण कार्य सन् २०२१ डिसेम्बरमा सुरु भएको थियो । करिब साढे तीन वर्षमा निर्माण सम्पन्न भएको होटलमा करिब रु. १ अर्ब २५ करोड लगानी भएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । करिब साढे दुई रोपनी क्षेत्रफलमा फैलिएको होटलमा ५५ वटा सुविधासम्पन्न कोठा रहेका छन् ।
होटल निर्माणमा फाइनान्सियल कन्सल्टेन्ट, आर्किटेक्ट, डिजाइनर, ठेकेदार, काष्ठकर्मी, ढुंगाशिल्पी, मेटल कलाकार तथा अन्य प्राविधिक जनशक्तिले खेलेको भूमिकाको उच्च सम्मान गर्दै उनीहरूलाई सम्मान गरिएको होटलले जनाएको छ । उक्त अवसरमा कृष्ण गदाल, लक्ष्मण गदाल, मञ्जुर आलम, विष्णु विक, जसबहादुर विकलगायत विभिन्न विधाका श्रमिकलाई जनही रु. १० हजार नगदसहित सम्मान गरिएको थियो ।
त्यसैगरी निर्माण कम्पनीका ओमप्रसाद रिजाल, पूर्व रेजिडेन्ट म्यानेजर गुप्त गिरी, इन्जिनियर रमेश पोखरेल, ग्लोबल आइएमई बैंकका प्रदेश प्रमुख सुशोभन देवकोटा, सुपरभाइजर सूर्यबहादुर थापा, चार्टर्ड एकाउन्टेन्ट लक्ष्मण अधिकारी, आर्किटेक्ट सुरेश श्रेष्ठ, इन्जिनियर दिलीप न्यौपाने तथा उत्कृष्ट कर्मचारीका रूपमा फुड एण्ड बेभरेज विभागका विवश कुमाललाई सम्मान गरिएको कर्पोरेट म्यानेजर लेखनाथ पहारीले जानकारी दिनुभयो ।

होटल व्यवस्थापनका अनुसार नेपाली मौलिकता र अन्तर्राष्ट्रियस्तरको सुविधाको संयोजन गर्ने उद्देश्यसहित निर्माण गरिएको टेम्पल बेलले सञ्चालनको पहिलो वर्षमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । होटलमा ४७ डिलक्स बुटिक रुम, पाँच सुपर डिलक्स, दुई जुनियर स्वीट र एक प्रेसिडेन्सियल स्वीट रुम रहेका छन् । साथै स्विमिङ पुल, स्पा, साउना, स्टिम, सम्मेलन हल, रेष्टुरेन्ट, बार तथा अन्य आधुनिक सुविधा उपलब्ध छन् ।
होटलका सञ्चालकद्वय विश्वराज पौडेल र भिष्मराज पौडेलले सकारात्मक सोच, साझा प्रयास र पारदर्शी सहकार्यबाट मात्र दिगो र समृद्ध पर्यटन सम्भव हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा तथा पौडेल दाजुभाइकी आमा ज्ञानुदेवी पौडेलले विभिन्न व्यक्तिलाई सम्मान गर्नुभएको थियो । सो अवसरमा ज्ञानुदेवी पौडेलले पोखरामा यस्ता बुटिक होटलको राम्रो बजार र माग रहेको बताउनुभयो । पोखरा क्षेत्रमा करिब ४० हजार बेड क्षमता रहेको उल्लेख गर्दै उहाँले यस्ता होटलले गुणस्तरीय पर्यटकलाई थप आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीलगायतले उक्त होटलले पोखराको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । पौडेल दाजुभाइका पिता स्वर्गीय गोविन्द शर्मा (बिखर्ची) ले उक्त होटलको शिलान्यास गर्नुभएको थियो ।
होटलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत कास्की जिल्ला टेनिस संघको विकास तथा फ्लडलाइट जडानका लागि होटलमै आयोजित गाला डिनरमार्फत रु. ८ लाख ९६ हजार सहयोग प्रदान गरेको छ । गाला डिनर, दाता तथा विभिन्न संघसंस्थाबाट उक्त रकम संकलन गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।




