newa srijana

आँधिखोलामा जेठ २३ गते सांस्कृतिक महोत्सव हुँदै

पोखरा । स्याङ्जाको माटोमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका कलाकारहरूको सहभागितामा जेठ २३ गते आँधिखोलामा सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ।

सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न हुने महोत्सवको मुख्य आकर्षण चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।

महोत्सवको उद्देश्य नेपाली लोकसंस्कृति, कला, साहित्य, गीत–संगीत तथा मौलिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्नु रहेको छ। आधुनिकताको प्रभावसँगै हराउँदै गइरहेका लोकसंस्कार, भेषभूषा, मौलिक गीत–संगीत तथा सांस्कृतिक पहिचानलाई नयाँ पुस्तामाझ पुर्‍याउने लक्ष्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो।

त्यसैगरी स्थानीय कला र प्रतिभालाई प्रोत्साहन गर्दै स्याङ्जाको सांस्कृतिक गरिमालाई उजागर गर्ने तथा आँधिखोला क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रमबारे जानकारी दिँदै आँधिखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले महोत्सवले स्याङ्जाको सांस्कृतिक पहिचानलाई थप उजागर गर्नुका साथै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले सम्पूर्णलाई कार्यक्रममा सहभागी भई महोत्सवलाई सफल बनाउन आग्रह गर्नुभएको छ।

World link net

कार्यक्रममा राष्ट्रिय तथा चर्चित कलाकारहरू पुरुषोत्तम न्यौपाने, शर्मिला गुरुङ, पशुपति शर्मा, रामजी खाँण, शिव हमाल, खुमन अधिकारी, अर्जुन सापकोटा, घनश्याम रिजाल, राजु गुरुङ, शंकर बिरही गुरुङ, अर्जुन थापा मगर, सुजन लम्साल, रमेशबाबु थापा, प्रसाद लामिछाने, राजन कार्की, कृष्णा गुरुङ, प्रकाश पराजुली, चेतन गोतामे लगायतका कलाकारहरूको विशेष प्रस्तुति रहनेछ।

त्यसैगरी मोडल तथा कलाकारहरू अस्मिता रनपाल, बिमल अधिकारी, शिशिर पौडेल, कमला गैरेलगायत अन्य स्थानीय तथा राष्ट्रिय कलाकारहरूको आकर्षक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ।

महोत्सवका अवसरमा ‘स्याङ्जाली स्रष्टा सम्मान’ कार्यक्रमसमेत आयोजना गरिनेछ। कला, साहित्य, संगीत, समाजसेवा तथा सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिने जनाइएको छ।

साथै कार्यक्रममा स्थानीय मौलिक कला, जातीय संस्कृति, परम्परागत भेषभूषा, लोकनृत्य तथा सांस्कृतिक झाँकीहरूको विशेष प्रस्तुति पनि रहनेछ।

सिटीजन फनिच्रर