पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित अध्यक्ष तथा सङ्घका एसोसियट सदस्य अञ्जन श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ।
महासङ्घको ६०औँ वार्षिक साधारणसभाबाट अध्यक्षमा निर्वाचित श्रेष्ठ यसअघि वरिष्ठ उपाध्यक्ष रहनुभएको थियो। उहाँ पोखराको औद्योगिक घराना लक्ष्मी समूहका निर्देशकसमेत हुनुहुन्छ।
सङ्घद्वारा आयोजित कार्यक्रममा महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीको विशेष उपस्थितिमा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा हालै महासङ्घको केन्द्रीय सदस्यमा निर्वाचित गोकर्ण कार्कीले अध्यक्ष श्रेष्ठलाई बधाई ज्ञापन गर्नुभयो। सो अवसरमा महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घतर्फका उपाध्यक्ष कृष्णप्रसाद शर्मा तथा केन्द्रीय सदस्यहरूलाई समेत स्वागत गरिएको थियो।
अध्यक्ष कार्कीले महासङ्घको इतिहासमा पोखराले दोस्रोपटक अध्यक्ष पाउनु गौरवको विषय भएको बताउनुभयो। निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्न तथा व्यावसायिक वातावरण निर्माणमा अध्यक्ष श्रेष्ठको कार्यकाल प्रभावकारी रहने विश्वास उहाँले व्यक्त गर्नुभयो।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले गृहनगर पोखरामा प्राप्त सम्मानप्रति आभार व्यक्त गर्दै निजी क्षेत्रप्रति देखिएको संशय हटाई त्यसको प्रतिष्ठा अभिवृद्धि गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो।
उहाँले आर्थिक वर्ष २०८३/८४ को बजेटमा समेटिएका केही व्यवस्था निजी क्षेत्रमैत्री देखिएको उल्लेख गर्दै सरकार र निजी क्षेत्रबीच सहकार्यको वातावरण बन्ने अपेक्षा व्यक्त गर्नुभयो। नवप्रवर्तन र युवामैत्री नीतिहरू बजेटका सकारात्मक पक्ष रहेको उहाँको भनाइ थियो।

यद्यपि, सम्पत्ति शुद्धीकरणका नाममा उद्योगी–व्यवसायीमाथि हुने गरेको कारबाहीप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो। अन्तर्राष्ट्रिय नियामक निकायको मापदण्ड पूरा गर्ने क्रममा निजी क्षेत्रका सरोकारलाई पनि ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।
अध्यक्ष श्रेष्ठले संविधान संशोधनसम्बन्धी बहस चलिरहेका बेला सामाजिक न्यायसहितको आर्थिक विकासका पक्षमा महासङ्घले आफ्नो धारणा स्पष्ट रूपमा राख्ने बताउनुभयो।
कार्यक्रममा महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले निजी क्षेत्रका समस्या र चुनौतीप्रति महासङ्घले स्पष्ट धारणा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले निजी क्षेत्रको मनोबल बढाउने तथा लगानीमैत्री वातावरण निर्माण गर्ने विषयमा महासङ्घले प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो।
महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घबाट उठाइने आवाजलाई महासङ्घले प्राथमिकताका साथ सम्बोधन गर्ने बताउनुभयो। उपाध्यक्ष कृष्णप्रसाद शर्माले वर्तमान नेतृत्व निजी क्षेत्रको मनोबल अभिवृद्धिका लागि सक्रिय रहने विश्वास व्यक्त गर्नुभयो।
सोही कार्यक्रममा नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) पोखरा च्याप्टरका नवनिर्वाचित अध्यक्ष इन्जिनियर सरोज कायस्थले सूचना प्रविधि क्षेत्रको विकासमा आफ्नो टोली प्रतिबद्ध रहने बताउनुभयो। उहाँले प्रदेश सरकारले घोषणा गरेको सूचना प्रविधि पार्कलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने महासचिव शोभा गौतमले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।




