newa srijana

साउथ एसियन जोन आइएचएफ ट्रफीमा सहभागिता जनाउन नेपाली ह्याण्डबल टोली ढाका प्रस्थान

पोखरा । अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आइएचएफ) को वार्षिक प्रतियोगिता ‘साउथ एसियन जोन आइएचएफ ट्रफी २०२६’ मा सहभागिता जनाउन नेपाली राष्ट्रिय ह्याण्डबल टोली मंगलबार बंगलादेशको राजधानी ढाकातर्फ प्रस्थान गरेको छ।

जेठ २७ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालले यू–१८ र यू–२० गरी दुई विधामा प्रतिस्पर्धा गर्ने नेपाल ह्याण्डबल संघका महासचिव केशव पाठकले जानकारी दिनुभयो।

ढाका प्रस्थान गर्नुअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचन्द्र मेहताले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै औपचारिक बिदाइ गर्नुभयो। उहाँले खेलाडीहरूलाई राष्ट्रको गौरव उँचो राख्ने गरी उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्नुभयो।

Mountain run pokhara click

प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भारत, माल्दिभ्स, अफगानिस्तान र यमनको सहभागिता रहनेछ। अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघले आफ्नो वार्षिक क्यालेन्डरअन्तर्गत यस प्रतियोगिता नियमित रूपमा आयोजना गर्दै आएको छ।

सिटीजन फनिच्रर

यू–२० नेपाली टोलीमा रोशन बिक, हबिन छन्त्याल, विश्वास गायक, सुदीप घले, केभिन गुरुङ, निरज गुरुङ, ऋतिक परियार, सुन्दर फगामी, निशान पुन, विकल पुन, मिसन पुन, रिजन श्रेष्ठ, शोनिश तामाङ र विवेक थापा रहेका छन्। टोलीको प्रशिक्षकका रूपमा नेपाली राष्ट्रिय ह्याण्डबल खेलाडी दिनेश श्रेष्ठ रहेका छन्।

त्यसैगरी, यू–१८ टोलीमा अनिश बिक, अल्बिन गुरुङ, सुजल गुरुङ, दिव्य गुरुङ, सुबिन गुरुङ, सितल गुरुङ, निशान गुरुङ, अदिश फगामी, प्रज्वल पौडेल, संस्कार पुन, कुशल पुन, सुमित पुन, अनमोल श्रेष्ठ र सुशन थापा रहेका छन्। उक्त टोलीको नेतृत्व प्रशिक्षक तथा नेपाली राष्ट्रिय टोलीका कप्तान विशाल बस्नेतले गरिरहनुभएको छ।

प्रस्थानअघि प्रशिक्षक विशाल बस्नेतले दुवै टोलीले पोखरामा करिब दुई महिनासम्म निरन्तर र कडा प्रशिक्षण गरेको उल्लेख गर्दै प्रतियोगितामा पदक जित्ने लक्ष्यसहित मैदान उत्रिने बताउनुभयो।

‘खेलाडीहरूले अथक मेहनत र अनुशासनका साथ तयारी गरेका छन्। अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा आफ्नो क्षमता प्रदर्शन गर्दै नेपालको गौरव बढाउनेमा हामी पूर्ण विश्वस्त छौँ। हाम्रो लक्ष्य उत्कृष्ट प्रदर्शनसँगै पदक जित्नु हो,’ उहाँले भन्नुभयो।

दक्षिण एसियाली राष्ट्रहरूबीच हुने प्रतिष्ठित प्रतियोगितामा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै देशलाई गौरवान्वित बनाउने अपेक्षा गरिएको छ। दुवै नेपाली टोली असार १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

Rabin photo