पोखरा । पोखरामा आयोजित यू–१६ छात्र/छात्रा जुनियर ह्यान्डबल प्रतियोगिता सोमबार सम्पन्न भएको छ । गण्डकी प्रदेश ह्यान्डबल संघको आयोजनामा, प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन तथा कास्की जिल्ला ह्यान्डबल संघको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितामा छात्रतर्फ गुरुकुल विद्यासदन मावि र छात्रातर्फ गण्डकी बोर्डिङ स्कुल आवासीय मावि ‘ए’ टिम च्याम्पियन बने ।
छात्रतर्फको फाइनलमा गुरुकुलले पोखरा एकेडेमीलाई १२–१० गोल अन्तरले पराजित गर्दै उपाधि जित्यो । पोखरा लर्नस तेस्रो स्थानमा रह्यो ।
छात्रातर्फ गण्डकी बोर्डिङ ‘ए’ ले प्रगति माध्यमिक विद्यालयलाई ३–० गोलले हराउँदै उपाधि जित्यो । तेस्रो स्थानका लागि भएको खेलमा गण्डकी बोर्डिङ ‘बी’ ले पोखरा एकेडेमीलाई ७–३ गोलले पराजित गर्यो ।
विजेता टोलीले २५ हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँ र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।


व्यक्तिगत पुरस्कारतर्फ छात्रमा गुरुकुलका दिव्य गुरुङ र छात्रातर्फ गण्डकी बोर्डिङकी सुस्मिता कुमारी जैसी सर्वाधिक गोलकर्ता घोषित भए । उत्कृष्ट गोलरक्षक छात्रतर्फ पोखरा एकेडेमीका अनिक परियार र छात्रातर्फ गुरुकुलकी रबिना चेपाङ बने । उत्कृष्ट खेलाडीको उपाधि छात्रतर्फ पोखरा एकेडेमीका अशेर कुमाल र छात्रातर्फ प्रगति माध्यमिक विद्यालयकी दिप्ती बानियाँले जिते। व्यक्तिगत विधाका विजेताले जनही ३ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।
समापन समारोहमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री गोविन्दबहादुर नेपालीले गण्डकी प्रदेश ह्यान्डबल संघको खेलाडी उत्पादनमा योगदानको प्रशंसा गर्दै प्रदेश सरकार खेलकुद विकासमा प्रतिबद्ध रहेको बताए ।

यसै अवसरमा जुनियर ह्यान्डबल प्रशिक्षक विशाल बस्नेत र दिनेश श्रेष्ठलाई सम्मान गरिएको थियो । उनीहरूले सन् २०२५ मा भारत र सन् २०२६ मा बंगलादेशमा आयोजित आईएचएफ ट्रफी प्रतियोगितामा यू–१८ पुरुष राष्ट्रिय टोलीलाई कांस्य पदक दिलाउन खेलेको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
असार २६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा छात्रातर्फ ९ र छात्रतर्फ १३ गरी कुल २२ टोलीको सहभागिता रहेको थियो ।




