newa srijana

रारा पोखरा स्पोर्ट्स अवार्डबाट ७ लाख ७१ हजार रुपैयाँ बचत

३४ लाख ७५ हजार आम्दानी, २७ लाख ४ हजार खर्च; मञ्चले सार्वजनिक गर्‍यो आय–व्यय विवरण

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोर्ट्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ।

मञ्चले आइतबार अवार्डको आय–व्यय सार्वजनिक तथा समीक्षा कार्यक्रम आयोजना गर्दै अवार्डका लागि कुल ३४ लाख ७५ हजार ९ सय ३८ रुपैयाँ आम्दानी भएको र २७ लाख ४ हजार ५ सय २० रुपैयाँ खर्च भएपछि उक्त रकम बचत भएको जानकारी दिएको हो।

गत वैशाख ३१ गते पोखरा–६ स्थित पोखरा इभेन्ट सेन्टरमा सम्पन्न अवार्ड कार्यक्रमको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको ‘रारा तयारी चाउचाउ’ रहेको थियो भने गुरुङ गहना घर प्रालि र केल्मे नेपाल सह–प्रायोजक रहेका थिए।

कोषाध्यक्ष विमल तिवारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद्, विभिन्न स्थानीय तह, खेल संस्था, व्यवसायिक प्रतिष्ठान तथा देश–विदेशमा रहेका खेलप्रेमी र पूर्वखेलाडीहरूको सहयोगबाट कार्यक्रम सम्पन्न भएको हो।

खर्चतर्फ सबैभन्दा बढी पुरस्कार वितरणमा १० लाख ३७ हजार ४ सय ६० रुपैयाँ खर्च भएको छ। त्यसैगरी खाजा, खाना तथा आवासमा ६ लाख ९८ हजार ३ सय ६४ रुपैयाँ, सांगीतिक कार्यक्रममा ४ लाख ५० हजार रुपैयाँ, ट्रफी तथा ट्र्याकसुट खरिदमा ४ लाख २२ हजार रुपैयाँ तथा अन्य शीर्षकमा खर्च गरिएको मञ्चले जनाएको छ।

सिटीजन फनिच्रर

मञ्चका अध्यक्ष एमबी आस्थामगरले विगतका अनुभवबाट सिक्दै संस्थाका गतिविधिलाई अझ व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री बनाइने बताए। उनले पोखरा स्पोर्ट्स अवार्डले काठमाडौं केन्द्रित ठूला कार्यक्रमको धारणा तोड्दै राष्ट्रियस्तरमा छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गरे। आगामी वर्ष मञ्चको अधिवेशनसमेत रहेकाले नयाँ नेतृत्वले संस्थालाई अझ सिर्जनात्मक ढंगले अघि बढाउने विश्वास व्यक्त गरे।

नेपाल पत्रकार महासंघ कास्कीका कार्यवाहक अध्यक्ष माधव रेग्मीले पोखरा स्पोर्ट्स अवार्डलाई पोखराको विशिष्ट ‘ब्रान्ड’ कार्यक्रमका रूपमा स्थापित गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए।

मञ्चका पूर्वअध्यक्ष केशव पाठकले अवार्डको सफलताको आधार आर्थिक पारदर्शिता भएको उल्लेख गर्दै हरेक वर्ष आय–व्यय सार्वजनिक गर्ने परम्पराले संस्थाप्रतिको विश्वास बढाएको बताए। उनले आगामी संस्करणमा प्राविधिक तथा व्यवस्थापकीय पक्षमा थप सुधार गर्न सुझाव दिए।

पूर्वअध्यक्ष एकराज गिरीले स्पोर्ट्स अवार्डलाई आगामी दिनमा अझ परिष्कृत र अपनत्वपूर्ण बनाउनुपर्ने धारणा राखे भने अवार्डका परिकल्पनाकार सन्देश श्रेष्ठले बचत भएको रकम खेलकुद पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि तथा विश्लेषणात्मक पत्रकारिता विकासमा लगानी गर्नुपर्ने सुझाव दिए।

कार्यक्रममा मञ्चले अवार्ड सफल बनाउन सहयोग गर्ने सरकारी निकाय, स्थानीय तह, खेल संस्था, व्यवसायिक प्रतिष्ठान, खेलाडी, पूर्वखेलाडी तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहकार्यको अपेक्षा गरेको जनाएको छ।

Pokhara learners