newa srijana

रसुवा बाढीपहिरो प्रभावितका लागि पोखरा पर्यटन परिषद्को सहयोग

पर्यटन व्यवसायी संस्थाहरूको ३ लाख ७१ हजार १ सय रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा

पोखरा । रसुवामा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि पोखरा पर्यटन परिषद्सहित पर्यटन व्यवसायसँग आबद्ध संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख ७१ हजार १ सय रुपैयाँ सहयोग गरेका छन्।

पोखरा पर्यटन परिषद्ले ५५ हजार रुपैयाँ, एगा पोखराले ५१ हजार १ सय रुपैयाँ, रेवान पोखराले ५० हजार रुपैयाँ, टेसा पोखराले ५० हजार रुपैयाँ, नाट्टा गण्डकीले २५ हजार रुपैयाँ, टान गण्डकीले २५ हजार रुपैयाँ, नेपाल हवाई खेलकुद संस्थाले २५ हजार रुपैयाँ, गाउँ पर्यटन मञ्च गण्डकीले २५ हजार रुपैयाँ, नेपाल पर्वतारोहण संघ गण्डकीले २५ हजार रुपैयाँ, पोखरेली ट्याक्सी सेवा प्रालिले १५ हजार रुपैयाँ, नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकीले १५ हजार रुपैयाँ र पोखरा सिटी टुर गाइड एसोसिएसनले १० हजार रुपैयाँ सहयोग गरेका छन्।

सिटीजन फनिच्रर

विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएको बताउँदै परिषद्का अध्यक्ष हरि भुजेलले प्रभावित समुदायको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि भइरहेका राष्ट्रिय प्रयासमा आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने बताए। आर्थिक सहयोगका साथै पोखरा टुरिजम रिभाइभल कमिटी (पिटीआरसी) लाई सक्रिय बनाई जिन्सी सामान र लत्ताकपडा लगायतका अत्यावश्यक भौतिक सामग्री समेत प्रभावितलाई पुर्‍याउने तयारी रहेको उनले बताए।

विपद्को कठिन परिस्थितिमा प्रभावित व्यक्ति तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा पुनःस्थापनाका काममा सहयोग गरिएको परिषद्ले जनाएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त रकम रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सञ्चालन भइरहेका राहत, उद्धार तथा पुनःस्थापनाका काममा उपयोग हुने अपेक्षा गरिएको छ।

पोखरा पर्यटन परिषद्मा गण्डकीलाई कार्यक्षेत्र बनाएर पोखराका १४ वटा पर्यटन व्यवसायी संस्था आबद्ध छन्।

Pokhara learners