newa srijana

बाढीपहिरो प्रभावितको राहत तथा उद्धारका लागि डुलुवाद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग

पोखरा । पोखराका पर्यटनकर्मी युवाहरूको समूह ‘डुलुवा’ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ८६ हजार ७ सय २३ रुपैयाँ सहयोग गरेको छ।

बाढीपहिरोलगायतका विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको समूहका सचिव ठाकुरप्रसाद बरालले बताए। विपद्को समयमा सबै मिलेर सहयोग गर्दा प्रभावित नागरिकसँगै सरकारको राहत तथा उद्धार प्रयासमा पनि सहयोग पुग्ने उनले बताए।

यात्राका क्रममा सामाजिक कामलाई पनि अघि बढाउँदै आएको डुलुवाका अध्यक्ष योगेश भट्टराईले बताए। उनका अनुसार समूहले विभिन्न विद्यालयमा आवश्यक शैक्षिक सामग्रीसमेत वितरण गर्दै आएको छ।

सिटीजन फनिच्रर

‘डुलुवा’ पोखराका पर्यटनकर्मी युवाहरूको समूह हो। सन् २००८ देखि प्याराग्लाइडिङ तथा पर्यटन व्यवसायमा आबद्ध युवाहरूले मिलेर नेपालका विभिन्न पर्यटकीय स्थलको भ्रमण सुरु गरेका थिए। समूहलाई सन् २०२० मा औपचारिक रूपमा ‘डुलुवा’ नामकरण गरिएको थियो।

स्थापनादेखि समूहले नेपालका ७२ जिल्ला भ्रमण गरिसकेको भट्टराईले बताए। समूहले भारतको कश्मीर हुँदै लद्दाखसम्म तथा कास्कीकोटदेखि कन्याकुमारीसम्म यात्रा गरेको छ। पछिल्लो समय डुलुवा टोलीले ‘हुम्ला अन्तिम उपत्यका अभियान’ सञ्चालन गरेको थियो।

यात्राका क्रममा डुलुवा समूहले निर्माण गरेको ‘द नर्देन वाल’ भिडियोले वी विल राइज फाउन्डेसन र नेपाल टेलिभिजनले आयोजना गरेको भिडियो प्रतियोगितामा उपाधि जितेको थियो। ‘मोस्ट एनर्जेटिक भिडियो मेकर’ अवार्ड पनि डुलुवाकै ‘मेरो गाउँ तक्सेरा’ भिडियोले प्राप्त गरेको समूहले जनाएको छ।

Pokhara learners