newa srijana

बाढी प्रभावितको सहयोगार्थ ‘मिडिया कप फुटसल’को तयारी पूरा

असोज २ र ३ गते पोखरा रंगशालामा गण्डकी प्रदेशस्तरीय प्रतियोगिता

पोखरा । कल्प मिडिया एन्ड मल्टिपर्पोज प्रालिअन्तर्गत नयाँलिपि न्युज डटकमको आयोजनामा असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को तयारी पूरा भएको छ। प्रतियोगिताबाट हुने मुनाफा भोटेकोसी बाढीबाट प्रभावितको राहत तथा पुनःस्थापनामा सहयोग गर्ने आयोजकले जनाएको छ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ। खेलकुद पत्रकारबीच सम्बन्ध विस्तार गर्नुका साथै प्रतियोगिताको दायरा फराकिलो बनाउने उद्देश्यले प्रदेशस्तरीय प्रतियोगितालाई खुला अवधारणामा सञ्चालन गर्न लागिएको आयोजकका अध्यक्ष सुरज श्रेष्ठले बताए।

सूचना विभागको परिचयपत्र भएका तथा नेपाल पत्रकार महासंघ वा नेपाल खेलकुद पत्रकार मञ्चमा आबद्ध पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्। गण्डकी प्रदेशबाहिरका जिल्लाका पत्रकारलाई पनि गण्डकी प्रदेशभित्रका जिल्लाबाट प्रतिनिधित्व गराएर सहभागी गराउने व्यवस्था गरिएको श्रेष्ठले बताए।

कास्कीबाहेकका जिल्लाबाट आउने टोलीका लागि आयोजकले दुई छाक खाना र एक रातको बसोबासको व्यवस्था गर्नेछ। यातायात खर्च भने सम्बन्धित टोलीले नै व्यहोर्नुपर्नेछ। जिल्लाबाट सहभागी हुने टोलीको तयारी तथा यातायात खर्चमा सहजीकरणका लागि प्रदेश खेलकुद परिषद् गण्डकीमार्फत सम्बन्धित खेल संघसँग सहयोगका लागि पत्राचार गरिएको आयोजकले जनाएको छ।

पत्रकारितामा सक्रिय रहे पनि परिचयपत्र नभएका खेलाडीले सम्बन्धित नेपाल पत्रकार महासंघको जिल्ला शाखा वा नेपाल खेलकुद पत्रकार मञ्चबाट सिफारिस ल्याउनुपर्नेछ। खेलाडीको सहभागितासम्बन्धी विवाद उत्पन्न भएमा सम्बन्धित जिल्ला शाखा वा खेलकुद पत्रकार मञ्च जिम्मेवार हुने आयोजकले जनाएको छ।

सिटीजन फनिच्रर

प्रतियोगितामा सहभागी सबै खेलाडीको खेल अवधिभर बीमा गरिनेछ। त्यसका लागि टोलीले खेलाडीको आवश्यक विवरण आयोजकलाई उपलब्ध गराउनुपर्नेछ।

प्रतियोगिताको टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ। देशको पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै टिम दर्ताको समय केही दिन थपघट हुन सक्ने भए पनि प्रतियोगिता भने असोज २ र ३ गते नै सञ्चालन हुने आयोजकले जनाएको छ।

विजेता टोलीले ५० हजार रुपैयाँ नगदसहित शिल्ड, प्रमाणपत्र र मेडल तथा उपविजेता टोलीले ३० हजार रुपैयाँ नगदसहित शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई १ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगितामा पोखरा महानगरपालिका वडा नम्बर १२ र कफी डी हिमालयज प्रायोजक रहेका छन्। प्रदेश खेलकुद परिषद् गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगरपालिका खेलकुद विकास समिति र पोखरा महानगरपालिका वडा नम्बर ३ सहयोगी संस्था छन्।

परिचय एडभर्टाइजिङ र लिड्स इभेन्ट्स प्रवर्द्धक तथा गो बन्जी एडभेन्चर पार्टनर रहेका छन्। पीएम सोलुसन प्रिन्टिङ पार्टनर, गण्डकी मेडिकल कलेज मेडिकल पार्टनर र चाइनिज गार्डेन रेस्टुरेन्ट एन्ड बार हस्पिटालिटी पार्टनर छन्। सफल ब्याङ्क्वेट प्रेस मिटको भेन्यू पार्टनर रहेको आयोजकले जनाएको छ।

Pokhara learners