newa srijana

‘पेन्सन पट्टा’को माउथ पब्लिसिटीसँगै पोखरामा शो थपिए

चौथो दिन दयाहाङ राईसहित कलाकार हलमा पुगेर दर्शक भेटे

पोखरा । माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’को प्रदर्शनसँगै पोखराका हलमा शो थपिएका छन्। प्रदर्शनको चौथो दिन सोमबार पनि दर्शकको उपस्थिति बढेपछि पोखराका क्युएफएक्स, मिडटाउन सिनेमाज र श्रीकृष्ण चलचित्र मन्दिरमा मंगलबारका शो थपिएका हुन्।

पोखरा ट्रेडमलस्थित क्युएफएक्समा दैनिक ६, मिडटाउन सिनेमाजमा ५ र श्रीकृष्ण चलचित्र मन्दिरमा ३ शो सञ्चालन भइरहेका छन्। निर्माण पक्षका अनुसार चलचित्रका अधिकांश शोमा दर्शकको उपस्थिति राम्रो छ।

सोमबार चलचित्रका कलाकार दयाहाङ राई, पुस्कर गुरुङ, सोल गुरुङ, विश्वास गुरुङ, माया गुरुङ, मनिका गुरुङ, डिबी गुरुङलगायत पोखराका विभिन्न हलमा पुगेका थिए। उनीहरूले दर्शकसँग चलचित्रबारे प्रतिक्रिया लिएका थिए।

मिडटाउन सिनेमाज र क्युएफएक्सका दुई शोमा पुगेका दयाहाङले दर्शकबाट अपेक्षाभन्दा राम्रो प्रतिक्रिया पाइरहेको बताए। रसुवाको बाढी तथा ग्यासको समस्याका कारण मनोरञ्जनका लागि हल पुग्ने दर्शक घट्न सक्ने अनुमान गरे पनि त्यसको विपरीत चलचित्रले दर्शक पाइरहेको उनले बताए। चलचित्रमा आफूले निर्वाह गरेको ‘राजन’ पात्रलाई दर्शकले आफ्नै परिवार र सामाजिक परिवेशसँग जोडेर हेरेको उनको भनाइ छ।

सिटीजन फनिच्रर

कलाकार पुस्कर गुरुङले चलचित्रको माउथ पब्लिसिटी बढिरहेको बताए। पोखरा र काठमाडौंका हलमा दर्शकले दोहोर्‍याएर समेत चलचित्र हेरिरहेको उनले बताए। सोल गुरुङले पहिलोपटक हलमा पुगेर दर्शकको प्रतिक्रिया लिन पाउँदा उत्साह थपिएको बताइन्।

निर्देशक माओत्से गुरुङले पोखरासँगै बुटवल, चितवन, लमजुङ, तनहुँ, झापा र काठमाडौंका केही स्थानमा पनि दर्शकको उपस्थिति बढिरहेको बताए। उनका अनुसार प्रदर्शनको तेस्रो दिनसम्म काठमाडौंमा अपेक्षाकृत कम दर्शक भए पनि सोमबारदेखि मल्टिप्लेक्समा दर्शकको संख्या बढेको छ।

कास्कीको ताङतिङ र आसपासको परिवेशमा आधारित ‘पेन्सन पट्टा’ सामाजिक यथार्थवादी चलचित्र हो। चलचित्रमा परिवार, प्रेम, त्याग र लाहुरे जीवनको परिवेशलाई कथाको आधार बनाइएको छ।

चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, पशुपति राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, स्वर्गीय सुनिल थापा, माया गुरुङ, विश्वास गुरुङ, प्रतिक्षा गुरुङ, डिबी गुरुङ, मनिका गुरुङ, सोल गुरुङ र सुरज तमुलगायतको अभिनय छ।

Pokhara learners