newa srijana

पुण्यप्रसाद पौडेलको ‘मेरो संस्कृति र म’ सार्वजनिक

तीन खण्डमा समेटिएको संस्कृति र समाजको दस्तावेज

पोखरा । कास्कीका सामाजिक तथा राजनीतिक व्यक्तित्व पुण्यप्रसाद पौडेलद्वारा लिखित पुस्तक ‘मेरो संस्कृति र म’ बिहीबार पोखरामा सार्वजनिक विशेष समारोहबीच पौडेलको दोस्रो कृति लोकार्पण भएको छ ।

तीन खण्डमा विभाजित पुस्तकमा ‘संस्कृति’, ‘विविध’ र ‘आफ्नै कथा’ समावेश छन् । पहिलो खण्डमा संस्कृति, सभ्यता र संस्कृतिबीचको सम्बन्ध, संस्कृति निर्माण तथा परिवर्तनको प्रक्रिया, नेपालको बहुजातीय र बहुभाषिक सांस्कृतिक अवस्था लगायतका विषय समेटिएका छन् ।

लेखकले रामायण महाकाव्य, धर्मको उत्पत्ति, ऋग्वैदिक साहित्य, गणेश पुराण, नेपालका खस जाति, मगर जाति, मष्टो संस्कृति र पाउँदुर शिवालयबारे समेत चर्चा गरेका छन् । धर्मको उत्पत्ति र रामायणको ऐतिहासिकताका विषयमा लेखकले स्थापित मान्यतामाथि प्रश्न उठाउँदै आफ्ना तर्क र निष्कर्ष प्रस्तुत गरेका छन् ।

Mountain run pokhara click

पुस्तकको दोस्रो खण्डमा समाजवाद र नेपालको आर्थिक अवस्था, छोटी पसल, पोखरालाई पर्यटकीय राजधानी घोषणा, पुष्पलाल श्रेष्ठको योगदान, उपत्यकाको बनोट तथा पर्यटन विकास लगायतका विषय समेटिएका छन् । २०८२ भदौ २३ र २४ को राजनीतिक उथलपुथललाई समेत लेखकले पुस्तकमा समेटेका छन् ।

पोखराको उत्पत्ति र पर्यटन विकासबारे खोजमूलक सामग्री समेत पुस्तकमा राखिएको छ । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिए पनि आवश्यक पूर्वाधार विकास गर्न बाँकी रहेको तथा फेवाताल सहित पोखराका तालहरूको संरक्षणमा ध्यान दिनुपर्ने विषय लेखकले उठाएका छन् ।

सिटीजन फनिच्रर

तेस्रो खण्डमा भने लेखकले आफ्नो जन्म, पारिवारिक पृष्ठभूमि, अध्ययन, कम्युनिस्ट आन्दोलनमा प्रवेश, २० महिनाको जेल जीवन, पुष्पलाल श्रेष्ठबाट प्रभावित राजनीतिक यात्रा, गण्डकी–धौलागिरी माले हुँदै नेकपा मालेमा समाहित भएको प्रसंग लगायतका विषय समेटेका छन् । जिल्ला विकास समिति कास्कीको सभापतिका रूपमा बिताएको समयदेखि त्यसपछिका राजनीतिक तथा सामाजिक गतिविधिसम्मका अनुभव पनि पुस्तकमा छन् ।

२०११ साल भदौ १५ गते कास्कीको तत्कालीन पाउँदुरमा जन्मिएका पौडेल विभिन्न पत्रपत्रिकामा दर्जनौं फुटकर लेख रचना प्रकाशित गर्दै आएका छन् । उनको यसअघि ‘समाज समीक्षा’ पुस्तक प्रकाशित भइसकेको छ ।

पुस्तक सार्वजनिक कार्यक्रममा शुक्रराज शर्मा, शंकर बराल, श्रीनाथ बराल र गेहेन्द्रेश्वर कोइराला लगायतले मन्तव्य राखेका थिए। पुस्तक र लेखकका विषयमा रामराज रेग्मी, धनञ्जय दवाडी र प्रचण्ड शक्तिमान गुरुङले परिचर्चा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा लेखकका भाइले पौडेलको लामो राजनीतिक तथा सामाजिक यात्राका साथै उनको स्पष्टवादी स्वभाव र अध्ययनशील व्यक्तित्वबारे चर्चा गरेका थिए। उनले ‘मेरो संस्कृति र म’लाई संस्कृति र इतिहासका विषयमा मात्र नभई लेखकको व्यक्तिगत जीवन, राजनीतिक अनुभव र सामाजिक दृष्टिकोणसमेत समेटिएको कृतिका रूपमा प्रस्तुत गरे।

कार्यक्रम तीर्थराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो सो कार्यक्रममा माधव बास्तोलाले स्वागत र जीवनप्रसाद आचार्यले सञ्चालन गरेका थिए ।

Rabin photo