पोखरा। भाद्र २९ गते आयोजना गर्ने भनिएको बाल दिवस विशेष कार्यक्रम भोटेकोसी बाढीबाट सिर्जित विपद्का कारण स्थगित भएपछि सुशान्त क्लबले चारदिने बिदाको अवसर पारेर आइतबार हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ।
बालबालिकालाई सात समूहमा विभाजन गरिएको प्रतियोगितामा प्रत्येक समूहमा चार जनाका दरले सहभागी थिए। प्रथम, द्वितीय र तृतीय हुने बालबालिकालाई स्टेसनरी सामग्री पुरस्कारस्वरूप प्रदान गरियो।
यस्ता कार्यक्रमले बालबालिकाको बिदाको समय सदुपयोग हुनुका साथै सामान्य ज्ञान, बौद्धिक क्षमता र आत्मविश्वास विकासमा सहयोग पुर्याउने कार्यक्रमका प्रमुख अतिथि तथा सुशान्त टोल सुधार समितिका अध्यक्ष महेश पौडेलले बताए। प्रतियोगितामार्फत बालबालिकाले रमाइलोसँगै नयाँ कुरा सिक्ने र आफ्ना ज्ञान तथा क्षमता प्रस्तुत गर्ने अवसर पाएको उनले बताए।


बालबालिकालाई पढाइसँगै यस्ता अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदा सिर्जनशीलता र आत्मविश्वास बढ्न सहयोग पुग्ने क्लबका संस्थापक अध्यक्ष टीआर पौडेलले बताए।
यस्ता कार्यक्रमले बालबालिकालाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर दिनुका साथै सामान्य ज्ञान, आत्मविश्वास र नेतृत्व क्षमताको विकासमा सहयोग पुर्याउने क्लबकी अध्यक्ष शिला सिग्देलले बताइन्। प्रतियोगितामा सहभागी हुँदा नयाँ कुरा सिक्ने, आफ्ना विचार व्यक्त गर्ने र साथीहरूसँग सहकार्य गर्ने अवसर पाइने र हाजिरीजवाफजस्ता कार्यक्रमले बालबालिकामा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुग्ने उनले बताइन्।

क्लबले समुदायमा विभिन्न सामाजिक तथा बालबालिकामुखी कार्यक्रम सञ्चालन गर्दै आएको छ। बालबालिकाको क्षमता विकास र सामाजिक सहभागिता बढाउने यस्ता कार्यक्रमलाई निरन्तरता दिने क्लबले जनाएको छ। कार्यक्रमको सञ्चालन सचिव सगुन पौडेलले गरेकी थिइन्।





