पोखरा। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति पदमा युवा नेता सरोज केसीले उम्मेदवारी दर्ता गराएका छन्।
कास्की कांग्रेसको संगठनमा लामो समयदेखि सक्रिय केसीले संगठनलाई व्यवस्थित, सक्रिय र जनमुखी बनाउने एजेन्डासहित उम्मेदवारी दिएका हुन्। कार्यकर्तासँगको सम्बन्ध, संगठन सञ्चालनको शैली तथा जनतासँग पार्टीको सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयलाई उनले प्राथमिकतामा राखेका छन्।
केसीले नेतृत्व तहदेखि वडा तहसम्मका कार्यकर्तासँग नियमित संवाद र प्रत्यक्ष सम्पर्क कायम गर्ने तथा संगठनका गतिविधिलाई नियमित र प्रभावकारी बनाउने बताए। पार्टी संगठनलाई केही व्यक्तिको पहुँचमा सीमित नराखी सबै नेता–कार्यकर्ताका लागि समान रूपमा खुला र सहज बनाउने उनको योजना छ।
युवा पुस्तालाई संगठनमा जिम्मेवारी र नेतृत्वको अवसर दिने तथा महिलाको सहभागिता बढाउने विषयलाई पनि उनले प्राथमिकतामा राखेका छन्। अग्रज नेता–कार्यकर्ताको अनुभवलाई नयाँ पुस्ताको ऊर्जासँग जोडेर संगठन निर्माण गर्ने उनले बताए।
पार्टीभित्रको आन्तरिक लोकतन्त्र र फरक मतको सम्मानलाई पनि आफ्नो एजेन्डामा समेटेको केसीले बताए। विचार तथा नेतृत्वका विषयमा फरक मत हुनु लोकतान्त्रिक पार्टीको स्वाभाविक प्रक्रिया भएकाले प्रतिस्पर्धालाई व्यक्तिगत सम्बन्ध र संगठनात्मक एकतासँग जोड्न नहुने उनले बताए। निर्वाचनपछि सबै मिलेर संगठन निर्माणमा लाग्नुपर्ने उनले बताए।

जनतासँग कांग्रेसको सम्बन्ध थप बलियो बनाउने विषयलाई पनि उनले प्राथमिकतामा राखेका छन्। स्थानीय तहमा जनताले भोगिरहेका समस्या पहिचान गरी तिनलाई स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म राजनीतिक रूपमा उठाउने तथा समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर पहल गर्ने केसीले बताए।
सभापतिको पदलाई अधिकार वा प्रतिष्ठाभन्दा जिम्मेवारीका रूपमा लिएको केसीले बताए। जनताको आवाज पार्टीसम्म पुर्याउने र पार्टीका नीति तथा विचार जनतासम्म लैजाने माध्यमका रूपमा नेतृत्वलाई उपयोग गर्ने उनले बताए।
केसीको उम्मेदवारी मनोनयनपत्रमा पोखरा महानगरपालिका–३२ निवासी युवा नेता बिमान प्रधान प्रस्तावक र मादी गाउँपालिका–१, सिक्लेस निवासी अग्रज नेतृ रसकुमारी गुरुङ समर्थक बसेका छन्।
कास्की–१ को क्षेत्रीय सभापति पदमा ओमप्रकाश गुरुङ र अप्सरा श्रेष्ठले पनि उम्मेदवारी दिएका छन्।
आफ्नो उम्मेदवारी कसैको विरोधमा नभई कास्की–१ कांग्रेसलाई प्रभावकारी, समावेशी र जनतासँग जोडिएको संगठनका रूपमा अघि बढाउने प्रयास भएको केसीले बताए।




