पोखरा। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं. ३ को क्षेत्रीय सभापति पदका लागि विष्णुबहादुर क्षेत्रीले उम्मेदवारी दिएका छन्।
वि.सं. २०४७ सालदेखि कांग्रेसको संगठनमा सक्रिय रहेको क्षेत्रीले बताएका छन्। विद्यालय तहमै नेपाल विद्यार्थी संघ गठन गरी १३ वर्षको उमेरमा अध्यक्षको जिम्मेवारी सम्हालेका उनले त्यसपछि पृथ्वीनारायण क्याम्पस, क्षेत्रीय, जिल्ला हुँदै तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रसम्म संगठनका विभिन्न जिम्मेवारी सम्हालेको बताए। पार्टी राजनीतिमा प्रवेश गरेपछि क्षेत्रीय सहसचिवदेखि जिल्ला सदस्यसम्मका जिम्मेवारी सम्हालेको र विभिन्न निर्वाचनमा संगठन तथा परिचालनको भूमिका निर्वाह गरेको उनले बताए।
२०७८ देखि केन्द्रीय महाधिवेशन प्रतिनिधि रहेका क्षेत्रीले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन परिचालन समितिको संयोजक तथा २०८२ मा केन्द्रीय प्रचार-प्रसार विभागको सदस्यका रूपमा काम गरेको बताए। २०८३ मा कांग्रेसको ‘जरा अभियान’अन्तर्गत केन्द्रीय प्रतिनिधिका रूपमा गोरखामा काम गरेको पनि उनले बताए।

यो लामो संगठनात्मक पृष्ठभूमिलाई उम्मेदवारीको मुख्य आधार बनाएका क्षेत्रीले पदलाई व्यक्तिगत उपलब्धिभन्दा संगठनप्रतिको जिम्मेवारीका रूपमा लिएको बताए। संगठनलाई सक्रिय बनाउने, कार्यकर्तासँगको सम्बन्ध निरन्तरता दिने र पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई संगठन सुदृढीकरणसँग जोड्नुपर्ने उनको जोड छ।
पार्टीभित्रको निर्वाचनलाई कांग्रेसकै लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गरेको तर प्रतिस्पर्धा सकिएपछि त्यसको प्रभाव संगठनभित्र स्थायी दूरी वा विभाजनका रूपमा रहन नहुने क्षेत्रीले बताए। ‘दुनियाँलाई जितेर आफ्नै घरमा हार्नुको पीडा बुझ्न सक्छु, तर आफ्नैलाई जितेर एक्लै रमाउन सक्दिनँ,’ क्षेत्रीले बताए। व्यक्तिगत ‘म’भन्दा संगठनको ‘हामी’ ठूलो भएको र चुनावी प्रतिस्पर्धा भए पनि अन्ततः सबै पक्ष कांग्रेसकै संगठन र उद्देश्यमा जोडिनुपर्ने उनको धारणा छ।
आइतबार हुने निर्वाचनमा क्षेत्रीय तथा महाधिवेशन प्रतिनिधिहरूसँग मत र साथको अपेक्षा गर्दै क्षेत्रीले आफ्नो उम्मेदवारीलाई ३६ वर्षभन्दा लामो राजनीतिक तथा संगठनात्मक यात्राको निरन्तरताका रूपमा प्रस्तुत गरेको बताए।




