पोखरा । व्यवसायलाई नाफा आर्जन गर्ने माध्यममा मात्र सीमित नराखी रोजगारी सिर्जना र सामाजिक उत्तरदायित्वसँग जोडेर अघि बढाउने व्यवसायीका रूपमा अन्नपूर्ण गाउँपालिका-२ का स्थायी बासिन्दा तथा हाल पोखरा महानगरपालिका-२ निवासी बाबुराम भण्डारीले आफ्नो व्यावसायिक यात्रा अघि बढाइरहेका छन्।
पोखरा-५ गणतन्त्र चोकमा रहेको एसबी मल्टी ट्रेडर्स प्रालिमार्फत भण्डारीले इलेक्ट्रोनिक्स तथा घरायसी विद्युतीय सामग्रीको थोक बिक्री तथा वितरण गर्दै आएका छन्।
२०६० सालदेखि व्यवसायमा सक्रिय भण्डारी विदेशमा समेत काम गरेर फर्किएपछि सानो व्यवसायबाट व्यावसायिक यात्रा सुरु गरेका थिए। क्रमशः व्यापारको क्षेत्र विस्तार गर्दै इलेक्ट्रोनिक्स तथा घरायसी सामग्रीको थोक बिक्री तथा वितरणमा अघि बढेको उनले बताए।


एसबी मल्टी ट्रेडर्सले बाल्ट्रा, ट्युलिप, जेनेक्स, होम ग्लोरी, मिल्डा र मिथिला लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डसँग सहकार्य गर्दै आएको छ। पछिल्लो समय स्यामसङको समेत डिलरका रूपमा अघि बढ्ने अवसर प्राप्त भएको भण्डारीले बताए।
ग्राहक तथा व्यावसायिक साझेदारलाई उचित मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउनुका साथै बिक्रीपछिको सेवा र वारेन्टीलाई समेत प्राथमिकतामा राख्दै आएको भण्डारीले बताए। आफ्नै व्यवसायमार्फत युवालाई रोजगारी तथा व्यावसायिक अवसर उपलब्ध गराउँदै आएको उनले बताए ।
सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोग तथा सामाजिक कार्यक्रममा सहभागी हुँदै आएका उनी व्यवसायसँगै सहकारी र स्थानीयस्तरका सामाजिक गतिविधिमा पनि सक्रिय छन्। राजनीतिक क्षेत्रमा समेत आफ्नो संलग्नता रहेको उनले जनाए।

नयाँ उत्पादन, ब्रान्ड, वितरण सञ्जाल र सेवाका क्षेत्र थप गर्दै आगामी पाँच वर्षभित्र एसबी मल्टी ट्रेडर्सलाई थप व्यवस्थित र स्थापित व्यावसायिक संस्थाका रूपमा अघि बढाउने लक्ष्य रहेको उनले बताए।




