पोखरा । दोस्रो संस्करणको हेमजा साहित्य महोत्सव मंसिर ५ र ६ गते पोखरा महानगरपालिका–२५ स्थित गौरीशंकर खेल मैदानमा हुने भएको छ। हेमजालाई ‘काव्यनगरी’का रूपमा स्थापित गर्ने उद्देश्यले हेमजा साहित्य प्रतिष्ठान नेपालले महोत्सव आयोजना गर्न लागेको हो।
‘काव्यनगरी हेमजाको पहिचान, साहित्य र सिर्जनाको राष्ट्रिय अभियान’ भन्ने नारासहित आयोजना हुने महोत्सवमा कविता, आख्यान, गजल, मुक्तक, गीत, बालसाहित्य, समालोचना र साहित्य विमर्शका कार्यक्रम हुने प्रतिष्ठानका अध्यक्ष सुनिल गायकले बताए। महोत्सवमा काव्यवाचन, पुस्तकमाथि परिचर्चा, साहित्य संवाद र स्रष्टा सम्मानका कार्यक्रम पनि समेटिनेछन्। हेमजाको सारंगी र भजनलाई समेत महोत्सवमा जोडिने उनले बताए।

प्रतिष्ठानका महासचिव कोविदशरण उपाध्यायका अनुसार प्राज्ञ शंकरमणि त्रिपाठी (छन्दमणि) को परिकल्पनामा २०८२ सालदेखि महोत्सव सुरु भएको हो। गत वर्ष आयोजित पहिलो संस्करणमा ४५ जिल्लाका स्रष्टा सहभागी भएका थिए। यस वर्ष सातै प्रदेशका साहित्यकार सहभागी हुने उपाध्यायले बताए।
पोखरा महानगरपालिकाका प्रवक्ता तथा पोखरा–२५ का वडाध्यक्ष मोतिलाल तिमिल्सिनाले हेमजा कला र साहित्यका क्षेत्रमा परिचित क्षेत्र भएको बताए। आलु र मौरी महोत्सवबाट चिनिएको हेमजालाई साहित्य महोत्सवले देशभर थप चिनाउने उनले बताए।




