पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराले राष्ट्रिय कर दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ। ‘कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिकको सहभागिता’ भन्ने नारासहित कार्यालयले मंसिर ७ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गर्न लागेको हो।
कर दिवसको पहिलो दिन सोमबार प्रभातफेरी आयोजना गरिएको थियो। पोखरा सभागृहबाट सुरु भएको प्रभातफेरी सिर्जना चोक, रत्नचोक, राष्ट्र बैंक चोक र सहिदचोक हुँदै आन्तरिक राजस्व कार्यालय पुगेर समापन भएको थियो। प्रभातफेरीमा उद्योगी, व्यवसायी, पर्यटन व्यवसायी तथा सरकारी कर्मचारी सहभागी थिए।

कार्यालयले मंसिर २ देखि ६ गतेसम्म विभिन्न वस्तुगत संघसंस्थासँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरेको छ। मंसिर ५ र ६ गते मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना हुनेछ। मंसिर ७ गते करदाता सम्मान कार्यक्रम गरी कर सप्ताह समापन गरिने आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख शिवप्रसाद ढुङ्गानाले बताए।
कार्यालयले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। उक्त अवधिमा एक अर्ब ९६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा दुई अर्ब पाँच करोड रुपैयाँ संकलन भएको ढुङ्गानाले बताए। उनका अनुसार पोखरामा आयकरतर्फ लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ।
आयकरतर्फ लक्ष्यभन्दा बढी राजस्व संकलन भए पनि घरबहाल कर र ब्याज करतर्फ भने लक्ष्यअनुसार असुली हुन नसकेको ढुङ्गानाले बताए।




