पोखरा । पोखराको लेकसाइडमा करिब ५० करोड रुपैयाँ लगानीमा क्लब भोल्कानो निर्माण सुरु भएको छ। काठमाडौंमा रात्रिकालीन मनोरञ्जन व्यवसाय सञ्चालन गर्दै आएको व्यवसायी समूहले क्लब, रेस्टुरेन्ट, सपिङ र अन्य मनोरञ्जन सुविधासहितको कम्प्लेक्स बनाउन लागेको हो।
विशाल अर्बन भेन्चर्सको लगानीमा निर्माण हुन लागेको परियोजनामा क्लब, फुड कोर्ट, रेस्टुरेन्ट, स्पा, रूफटप रेस्टुरेन्ट तथा बालबालिकाका लागि खेल्ने क्षेत्र रहनेछन्। एउटै परिसरमा खानपान, किनमेल र मनोरञ्जनका सुविधा उपलब्ध गराउने उद्देश्यले परियोजना अघि बढाइएको कम्पनीले जनाएको छ।

व्यवसायी विशाल श्रेष्ठ, विशाल थापा र विशाल तुलाचनको संयुक्त लगानीमा निर्माण हुन लागेको परियोजनाको भूमिपूजा गरी निर्माण सुरु गरिएको हो। एक वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य रहेको कम्पनीका अध्यक्ष विशाल श्रेष्ठले बताए।

पोखरामा अन्तर्राष्ट्रिय स्तरको क्लब सञ्चालन गर्ने उद्देश्यले परियोजना अघि बढाइएको श्रेष्ठले बताए। आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी पारिवारिक वातावरणमा मनोरञ्जन र आतिथ्य सेवा उपलब्ध गराउने योजना रहेको उनले बताए।
कम्प्लेक्समा फुड प्लाजासहित विभिन्न कपडा ब्रान्डका पसल, कफी सप, स्वागत कक्ष र रूफटप रेस्टुरेन्ट रहनेछन्। अन्तर्राष्ट्रिय क्लब तथा मनोरञ्जन स्थलको अवधारणालाई पोखरामा भित्र्याउन सिंगापुर, भियतनाम, थाइल्यान्ड र स्पेनका क्लबहरूको डिजाइन तथा संरचनाको अध्ययन गरिएको श्रेष्ठले बताए।
लेकसाइडको स्ट्रिट नम्बर १० नजिक निर्माण हुन लागेको परियोजनाका लागि १७ वर्षका लागि जग्गा भाडामा लिइएको छ। कम्प्लेक्स सञ्चालनमा आएपछि करिब १२० जनाले प्रत्यक्ष रोजगारी पाउने श्रेष्ठले बताए।
परियोजना सञ्चालनमा आएपछि पोखराको पर्यटन, मनोरञ्जन र आतिथ्य व्यवसायमा नयाँ लगानी थपिने अपेक्षा गरिएको छ।




