पोखरा । विद्यार्थीमा रहेको गायन र नृत्य प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले पोखराको पालिखेचोकस्थित प्रतिभा माध्यमिक विद्यालयमा एकल गायन तथा नृत्य प्रतियोगिता आयोजना गरिएको छ ।
‘प्रतिभा स्टार–२०८३’ अन्तर्गत पहिलोपटक आयोजित प्रतियोगितामा गायन र नृत्य विधामा १६–१६ जना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा पहिचान गरी अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको बताए । विद्यार्थीमा फरकफरक क्षमता हुने भए पनि अवसर अभावमा ती प्रतिभा प्रस्तुत हुन नसक्ने अवस्था रहेको उनको भनाइ थियो ।
विद्यालयका प्राचार्य किरण सापकोटाले पनि विद्यार्थीको रुचि र क्षमता पहिचान गरी त्यसअनुसार अवसर दिन प्रतियोगिता आयोजना गरिएको बताए ।

विद्यालयका निर्देशक राकेश जोशीका अनुसार पहिलो चरणबाट गायनतर्फ सात र नृत्यतर्फ पाँच विद्यार्थी छनोट भएका थिए । उनीहरूबीचको प्रतिस्पर्धाबाट दुवै विधामा उत्कृष्ट तीन जना छनोट गरिएको थियो ।
गायनतर्फ कक्षा ११ डी म्यानेजमेन्टकी काब्या बराल विश्वकर्मा प्रथम, कक्षा ११ बी म्यानेजमेन्टका कृष्ण गुरुङ द्वितीय र कक्षा १२ एफ म्यानेजमेन्टका सुलभकुमार भण्डारी तृतीय भए ।
त्यस्तै, नृत्यतर्फ कक्षा ११ डी म्यानेजमेन्टकी अनुष्का गुरुङ प्रथम, कक्षा १२ डी विज्ञानकी प्रिन्सा गुरुङ द्वितीय र कक्षा ११ ए विज्ञानकी ग्लोरी राना तृतीय भए ।
दुवै विधाका प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई सहभागिता तथा प्रशंसापत्र प्रदान गरिएको विद्यालयले जनाएको छ ।
निर्देशक जोशीले विद्यार्थीको प्रतिभा, सिर्जनशीलता र आत्मविश्वास अभिवृद्धिमा अतिरिक्त क्रियाकलापको महत्त्व रहने बताए । यस्ता कार्यक्रमले विद्यार्थीको व्यक्तित्व विकाससँगै कला, संस्कृति र सिर्जनात्मक क्षमताको विकासमा सहयोग पुग्ने विश्वास रहेको प्राचार्य सापकोटाले बताए ।




