newa srijana

पोखराका कृषकले गरे कृषि तथा वातावरणमैत्री प्रविधिको अवलोकन

काठमाडौं र ललितपुरका कृषि प्रविधि तथा नमुना अभ्यासबारे ३५ कृषक र प्राविधिकले लिए जानकारी

पोखरा । पोखराका कृषक तथा कृषि प्राविधिकले काठमाडौं र ललितपुर पुगेर कृषि तथा वातावरणमैत्री प्रविधिको अध्ययन तथा अवलोकन गरेका छन् ।

आधुनिक कृषि प्रविधि, वन संरक्षण, पानीका मुहानको पुनर्जीवन र वातावरणमैत्री खेती प्रणालीबारे व्यावहारिक ज्ञान दिने उद्देश्यले पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाले स्थलगत अध्ययन भ्रमण आयोजना गरेको हो ।

शनिबार र आइतबार भएको भ्रमणमा कृषक तथा कृषि प्राविधिक गरी ३५ जनाको सहभागिता थियो । भ्रमणका क्रममा सहभागीले अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीसँगै ललितपुरको गोदावरीस्थित इसिमोडले विकास गरेको ज्ञान तथा सिकाइ केन्द्रका गतिविधि अवलोकन गरेका थिए ।

सिटीजन फनिच्रर ..

इसिमोडले गोदावरीमा वन संरक्षण, क्षयग्रस्त जमिनको पुनःस्थापना, पानीका मुहानको संरक्षण, वर्षाको पानी संकलन, दिगो कृषि र वैकल्पिक ऊर्जासम्बन्धी प्रविधिको परीक्षण तथा प्रदर्शन गर्दै आएको छ । सहभागी कृषकले ती प्रविधिको प्रयोग, उपयोगिता र स्थानीयस्तरमा गर्न सकिने अभ्यासबारे जानकारी लिएका थिए ।

इसिमोडले कृषि उत्पादनसँगै प्राकृतिक स्रोत संरक्षणलाई जोडेर विभिन्न नमुना अभ्यास सञ्चालन गर्दै आएको छ । भिरालो जमिनमा खेती गर्ने प्रविधि, माटोको उर्वराशक्ति जोगाउने उपाय, प्राङ्गारिक मल उत्पादन, थोपा सिँचाइ, मौरीपालन, च्याउ खेती तथा फलफूल उत्पादनसम्बन्धी गतिविधिबारे सहभागीलाई जानकारी गराइएको इसिमोडका जम्बु शेर्पाले बताए ।

पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले किसानलाई प्रविधिबारे सैद्धान्तिक जानकारी दिनुभन्दा त्यसको प्रयोग भइरहेको स्थानमै लगेर देखाउँदा बढी प्रभावकारी हुने बताए । प्रत्यक्ष अवलोकन र प्रयोग विधिबारे जानकारी पाउँदा किसानलाई आफ्नो खेती प्रणालीमा नयाँ प्रविधि अपनाउन सहज हुने उनको भनाइ थियो ।

भ्रमणमा सहभागी कृषकले विभिन्न कृषि प्रविधि तथा वातावरणमैत्री अभ्यासबारे प्रत्यक्ष जानकारी लिने अवसर पाएको बताएका छन् । आफ्नो खेतीको प्रकृति र आवश्यकताअनुसार उपयोगी प्रविधि अपनाउने उनीहरूको भनाइ छ ।

Byd