newa srijana

लेखनाथको नौविसेमा शनिबार दाइँ महोत्सव हुने

धान उत्पादन गर्ने उत्कृष्ट किसान पुरस्कृत हुने, परम्परागत कृषि प्रतियोगिता पनि सञ्चालन गरिने

पोखरा । पोखरा पर्यटन परिषद्को आयोजनामा तेस्रो दाइँ महोत्सव शनिबार लेखनाथको नौविसे टोलमा हुने भएको छ। पोखराको पर्यटनलाई वर्षभरि चलायमान बनाउने र परम्परागत कृषि संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो।

पोखरा महानगरपालिका-२९ स्थित नौविसे टोलमा बिहान ९ बजेदेखि सुरु हुने महोत्सवमा परम्परागत दाइँ गर्ने शैली, ग्रामीण जीवनशैली, कृषि संस्कृति र स्थानीय उत्पादन प्रदर्शन गरिने आयोजकले जनाएको छ।

पोखरालाई वर्षभरि पर्यटक आकर्षित गर्ने गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले महोत्सव सुरु गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताए। ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारालाई सार्थक बनाउन पर्यटनका नयाँ गतिविधिसँगै स्थानीय मौलिकतालाई जोड दिइएको उनले बताए।

सहरीकरणसँगै परम्परागत खेती प्रणाली र कृषि संस्कृति हराउँदै गएको अवस्थामा नयाँ पुस्तालाई पुर्खाको खेतीपाती गर्ने शैली, श्रम संस्कृति र ग्रामीण जीवनसँग परिचित गराउनु महोत्सवको उद्देश्य रहेको भुजेलले बताए।

सिटीजन फनिच्रर ..

महोत्सवले पोखराको पर्यटनलाई ताल, हिमाल र साहसिक गतिविधिमा मात्र सीमित नराखी कृषि तथा ग्रामीण पर्यटनसँग जोड्ने अपेक्षा गरिएको नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले बताए। यसबाट खेतीयोग्य जमिन संरक्षण, स्थानीय उत्पादनको बजारीकरण र कृषकलाई पेसाप्रति उत्साहित गर्न सहयोग पुग्ने उनले बताए।

यस्ता महोत्सवले स्थानीय अर्थतन्त्र चलायमान बनाउनुका साथै पुरानो संस्कृति, सीप र रहनसहन नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्ने पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले बताए।

कार्यक्रममा पर्यटन व्यवसायी, वडा स्तरीय कृषि सञ्जाल, कृषक र स्थानीयको सहभागितामहोत्सव रहने संयोजक हरिराम अधिकारीले बताए । कृषि र पर्यटनलाई जोडेर स्थानीय समुदायको आर्थिक गतिविधि बढाउने लक्ष्य रहेको उनले बताए।

यस वर्ष धेरै धान उत्पादन गर्ने उत्कृष्ट किसानलाई सम्मान तथा पुरस्कार प्रदान गरिने पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए । महोत्सवमा धान चुट्ने, गुन्द्री बुन्ने र लठ्ठो तान्ने प्रतियोगिता पनि सञ्चालन गरिनेछ। सहभागी अतिथिलाई स्थानीय उत्पादन उपहार दिइने उनले बताए ।

महोत्सवले परम्परागत कृषि प्रणाली नयाँ पुस्तामा हस्तान्तरण गर्न, युवालाई कृषि पेसामा आकर्षित गर्न र ग्रामीण संस्कृतिलाई पर्यटकीय आकर्षणका रूपमा विकास गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ।

Byd