बिदेशिने कस्लाई रहर हुन्छ र भन्ने गरिन्छ । तर हामी प्राय युवा नेपालीलाई त्यस भनाईको बिपरित बिदेशिने मात्र रहर लागेको पाइन्छ । कती धेरै मानिसहरु घुमफिर, धार्मिक यात्रा, महत्वपूर्ण कार्य वा भेटघाटका लागि पनि बिदेश जान्छन । प्राय नेपालीहरु बाध्यताले बिदेशिने कारण काम वा सुनिश्चित भविष्यको खोजिमा हुने गरेको छ । यसरी बिदेशिनु बाध्यता वा रहरले जे पनि हुन सक्छ हाम्रो सामाजिक परिवेश, परम्परा, आर्थिक र भौगोलिक अवस्था होस वा राजनैतिक अस्थिरता जस्ता बिभिन्न कारण बिदेशिने क्रम बढ्दो छ ।
निश्चित समयको लागि बिदेशमा गएर पैसा कमाई नेपाल फकर्ने सोच र अवस्थाका मानिस अर्थात अस्थाई रुपमा बिदेशिनेहरु जस्तै अरव तथा खाडी मुलुक, मलेसिया जस्ता देशमा केवल कामका लागि जानेहरु नेपाल फर्किने सोच र योजनाले नै गएका हुन्छन । तर अमेरिका, अष्ट्रेलिया, युरोप जस्ता बिकसित देशमा गएका युवाहरु प्राय अवसर मिलेसंम स्थाई बसोबासको सोच राखेर वा योजना बनाएर गएका हुन्छन । यसरी कामको खोजीमा जाने र फर्किने तथा उतै बसाइसराइ सर्ने इच्छाले बिदेशिएका दुई थरी नेपाली बिचको सोच, अवस्था र उदेश्य धेरै फरक हुनसक्छ ।
तर पनि अस्थाई होस वा स्थाई बिदेशिने नेपाली मध्य अधिकांसले बिदेशमा भोग्ने भोगाईको चरण समग्रमा एउटै हुन्छ । देश र त्यहाको कानून अनुसार केही फरक हुनसक्छ भने ब्याक्ति स्वयंमको ब्यक्तित्व, योग्यता र सोच अनुसार केही फरक हुन सक्छ, तर अधिकांस बिदेशिने नेपालीको मनोबिज्ञान ढिलो चाडो उस्तैउस्तै भएको पाइन्छ । चाहे युनिर्भिसटी प्रोफेसर, डक्टर, इन्जिनियर, उच्च पदस्त वा प्रसस्त पैसा कमाउने बिजनेसमेन होस वा सामान्य मजदुरी गर्ने, घण्टाको दरमा काम गर्ने कामदार फ्लोर कामदार होस, चाहे अरवको खाडी, मलेसिया होस वा युरोप, अमेरिका वा अष्ट्रेलिया, हरेकले ढिला वा चाडो, थोरै वा धेरै यि चरण पुरा गरेकै हुन्छन ।
यि चरणबद्ध समयहरुमा हुने भौतिक गतिबिधी र मानसिक सोचहरु धेरै बिदेशिएका बिभिन्न वर्ग, समुदाय र क्षेत्रका मानिसहरुको अवस्था, सोच र बिचारको आधारमा नै लिइएको हो । यो संकलन गर्नका लागि करिव डेड दशकको लामो समय बिदेश वसेको अनुभव हो । उक्त समयमा भेटघाट भएका नया नेपाली, केही समय गुजारेका दुख संघर्ष गरिरहेका नेपाली र करिब २ देखी ३ दशक बिदेशमा बिताएका प्रज्ञिक वा पैसावाल पुराना नेपालीसगको भेटघाट र सामिप्यताले सिकाएको बुझेको सोच, भोगाइ र अनुभव हो । यिनै स्थाई बसोबासका लागि बिकसित देश पुगेका नेपालीहरुको बिदेशको जिवनका बिभिन्न फेजहरुलाई भिजिटिड., स्ट्गल, प्रोग्रेस, बोरिड. र फ्रस्टेसन गरी ५ चरणमा वर्गिकरण गरिएको छ ।
१. भ्रमण चरण
अंगेजीमा भिजिट फेज भनिने यो समय बिदेश पुगेको ३ महिना देखी ६ महिना सम्म रहन्छ । स्टाटस अनुसार फरक भए पनि यो चरण स्पोनसरसिप वा खल्तीमा नेपालकै पैसा भएको चरण हो । यो समय सवै राम्रो रमाइलो मात्र देखिन्छ, बिदेशमा दुख पनि छ भन्ने जानाकारी कम हुन्छ । आफुलाई कामको आवश्यकता नभएको तथा नेपालबाट ल्याएको पैसा रहिरहेको हुनाले घुमफिर तथा भेटघाटमा समय बित्दछ । अझ कसैको बोलावटमा वा डिपेन्डेन्ट भिषामा आएकाको लागि त स्वर्ग नै अनुभूती हुन्छ । यस बेला प्रायलाई बिदेश निकै रमाइलो र मोजमस्तीको जिन्दगीमात्र जिउन पाउने ठाउ झै लाग्छ । यहा हुने आफन्तले पनि निकै खुसीसाथ स्वागत सन्मान गरेका हुन्छन् । ठुला चाक्ला बाटोघाटो, सफा सुन्दर वातावरण, बस्न राम्रो घर, तथा डुल्ने राम्रा बगैचा र प्रसस्त घुम्ने ठाउ, समुन्द्रका बिचहरु जस्ता लोभलाग्दा दृष्यले मन लोग्याउछ । नेपालको गरिवी अवस्था र नेपाली असभ्य अबिकसित समाजसग यो सभ्य र बिकसित समाजको तुलना गरिरहन मन लाग्छ । समुन्द्र छेउमा टहलिने, बगैचा, पार्क र म्युजियममा घुम्ने तथा अनेकौ थरी खाना र स्वादका परिकार खाइरहन पाइने हुदा यस चरण प्रायको उत्कृष्ठ हुन्छ ।
२ संघर्ष चरण
कामको खोजीका लागि वा पढाई तथा लामो समय बस्ने हिसावले आउने प्रँयजसोले भ्रमण चरण पार गरेपछी अर्थात करिव ६ महिना पछी यहीको वास्तविक जिवन सग संघर्ष गर्नु पर्ने समय स्ट्रगल फेज आउछ । यो समय आफ्नै कमाईमा(खुट्टामा) उभिने समयको शुरुवाती हो । केही कम मानिस पहिले नै कागजी प्रकृयाको पूर्ण ब्यावथा गरेर तथा पेशा वा काम र रहनेबस्ने ब्यावस्था मिलाएर नै आएका पनि हुन्छन तर अधिकांस बिकसित देशमा जाने नेपालीको पूर्व तयारी त्यस्तो केही हुदैन । त्यसैले बिदेश पुगेपछीको यो चरणमा मुख्य दुखका दिन शुरु हुन्छन । सवैमा एकै नहुन सक्छ तर सवैले केही रुपमा यो संघर्षको चरण पार गर्नै पर्छ, किनत ? पहिलो कसैलाई कागजी प्रकृयाले आफु पूर्ण आधिकारिक नभएको कारण दुख पाउछन । दोश्रो कागज हुनेले पनि काम पाउन, खोज्न गाह्रो हुन्छ । पाएको काममा पनि ब्यावहारिक ज्ञानको कमीले दुख हुनसक्छ । तेश्रो काम र वसाइको ब्यावथामा अप्ठारो हुनसक्छ । चौथो भाषा र चाहिने सवारी साधन तथा ड्राइभिड. तथा अन्य रेल,बस समात्ने ज्ञानको अभाव अप्ठारो हुन सक्छ । यस्तै अरु यतै बिदेश रहेको साथीहरुको नया ठानेर हेप्ने प्रबृती वा फरक ब्यावहार अनि आफ्नो घरपरिवारको बढि सम्झना पनि यही फेजमा पर्दछ । कसैलाई त एक्लोपन, घरब्यावहार, आफु आएको ऋणले सताउने र आफ्नो कमाइ तथा दुखको अवस्थाले डिप्रेसनमा पर्न सक्ने पनि हुन्छन । परिवारको काम ब्यावस्थापनले पनि दुख पाइन्छ । मुख्यतय यस समयमा हाम्रो मानसिकताबाट नेपालको समाज र सोच हटिसकेको हुदैन भने नया ठाउको सवै अनुभव प्राप्त भैसकेको हुदैन यही दोहोरो मानसिक तनावले निकै दुख भएको वा मन आत्तिएको महसुस हुन्छ । बरु नेपाल नै ठिक थियो म किन आए होला भन्ने सोच बारम्बार आईरहन्छ । बास्तविक दुख भोगिने सामान्यतय यो ५ वर्षको समयले बिदेशबारे धेरै सिकाउछ , हिम्मत बढाउछ र साच्चै समयाअनुकुल परिस्थीती र परिवेशमा बाच्न प्राण भर्दछ । कतीपय भने यही संघर्षको पिरियडमा हरेस खाएकाहरु पनि देखिन्छन भेटिन्छन । त्यो त मानिसको आफ्नो मानसिक क्षमता र अनुभवले पनि फरक पार्ने कुरा हो । कतिपयलाई भाग्यले वा कसैलाई आफन्तको सहयोगले यो चरण त्यती अप्ठारो नपर्नसक्छ तर पनि धेरै थोरै यो संर्षसको चरण सवै बिदेशिनेले नेपालीले काटेकै हुन्छन, काट्नै पर्छ र सधै याद रहनेहुन्छ ।
३ उन्नतीको चरण
प्राय मानिसहरु ५ वर्षको हण्डर,ठक्कर र हरेक अनुभवले धेरै शिक्षा पाइसकेका हुन्छन । अव उनीहरुले त्यहाको काम, भाषा, समाज र प्रगती गर्ने सवै कुरा देखेका जानेका हुन्छन अव शुरु हुन्छ प्रोग्रेस फेज । धेरैजसो त स्थाई बसोबासको प्रक्रियामा गइसकेका हुन्छन भने कहा र कताबाट आफ्नो भलाई हुन्छ वा उन्नती हुन्छ भन्ने बाटो लागेका हुन्छन । प्रायले यस फेजमा आफुलई दक्ष, ब्यावसायिक योग्य बनाईसकेका हुन्छन भने कति आफ्नै राम्रो पेशा, ब्यावसाय वा कुनै उत्कृष्ठ कम्पनीको दक्ष कामदार भएर आफु र आफ्नो परिवारको राम्रो ब्यावस्थापन (सेटल) गराईसकेका हुन्छन । यसरी बिदेश आएको ५ वर्ष देखी सामान्यतय अरु १५ वर्ष उन्नतीको चरणमा बित्छ । नेपाल तिर घरघडेरी जोडिसकेको र बिदेशमा राम्रो घर गाडीमा सुखले जिन्दगी काटेका हुन्छन । यही समयमा बिदेशमा परिवार सहित बस्नेको आफ्नो आर्थिक प्रगती अनि सन्तानको शिक्ष्ाँ र सस्कार यतैको भएकाले नेपालमा रहने उसैका साथीसग तुलना गरी आफु र आफ्नो परिवार धेरै सभ्व र भब्य प्रगती भएको ठानिरहेका हुन्छन वा आफुलाई निकै भाग्यमानी ठानिरहेको हुन्छन । कतीपयलाई त संसारमा म भन्दा ठुलो मान्छे कमै होलान भन्ने भान हुन्छ वा घमण्ड चढेको देखिन्छ । कसैलाई अव नेता बन्ने जोश पलाउछ ।
४ बेचैन चरण
बिदेशिएको १५ देखी २० भैसकेको हुन्छ । कामै काम एवं पैसा पैसाको सोच र जिन्दगीले मान्छेलाई मेसिन सरह बनाएको हुन्छ । बिदेशको नियम कानून र कामको प्रकृयाले मान्छे बेचैन (बोरिड.) भैसकेको हुन्छ । जिन्दगी खासै के रैछ र बिहान बेलुका खान अनि राम्रो निद्राले सुत्न पाए त भैगयो नि भन्ने भावनाले गिज्याउन थाल्दछ । उता आफ्ना सन्ततीको ब्यावहार र आफ्नो सोचमा फरकता आउदै जान थालेको हुन्छ । आफ्नै श्रीमान, श्रीमती बिचको मतभेद बढेर गएको हुन्छ । किनकी आफ्नो सोच सस्कार नेपाली समाज र गाउले परिवारबाट आएको हुन्छ भने बिदेशमा जन्मे हुर्केको सन्तानको सोच ब्यावहार खुल्ला समाज र आत्मकेन्द्रित (सेल्फीस) सोचले केही दुखित बनाउदै लगेको हुन्छ । घर बाहिर वा अरुलाई भन्न सक्दैन किनकी अरुको अगाडी उ नमूना हो वा प्रगती पथ प्रर्दशक हु नेता हु भन्ने अझै भ्रम रहिरहेको हुन्छ । उसैले बोलेको वा गरेको कार्य आफनै सन्ततीले बुझदैनन वा मन पराउदैनन् । यसैले यही फेजमा हुनेहरु यो बोरिड. फेजबाट केही छुटकारा पाउन प्राय मानिस घुमफिर गर्ने वा साथीभाई डाकेर भोजभतेर र रमाइलोको आयोजना गरिरहने हुन्छन । कोही आफुलाई उच्च देखाउन सामाजिक क्रियाकलाव, संघसस्थामा लाग्ने, नेपालको राजनैतिक नेता आउदा उसैको स्किटड. गर्ने र उस्कै दलको भाषा बोल्दै हिड्ने, नेता वा समाजसेवी भै टोपल्ने, फेसबुक सामाजिक सञ्जाल भर्ने, चन्दा वा यस्तै कमाउ धन्दामा लाग्ने आदी गर्दछन । यो प्रगती र निराशा मिश्रित जिवनको फेज करिव १० वर्ष रहन्छ ।
५ निराशाबादी चरण
कसैले ढिलो वा चाडो भोगे पनि बिदेशिने प्रायले करिव २५ वर्ष पछीको प्राय निराशाबादीता (फ्रस्टेसन) चरण भोग्नै पर्छ । उमेरले करिव २५ देखी ३० वर्षमा बिदेश भित्रिएको भएपनि अहिले ६० वर्ष पर उमेर पुगेको हुन्छ । काम गर्ने तागत र परिवेशले रिटार्यड पाएको हुन्छ भने रोगले गल्दै गएको शरिर हेरचाह गर्ने परिवार हुदैन । यो वोरिड.को बढदो रुप हो जुन समय आफ्ना सन्तान पूर्णरुपमा आफ्नो बसमा हुदैनन र उनैको ब्यावहार वा समयाअभावले श्रृजना हुने एक्लोपनाले जिवन देखी नै निरास बनाएको हुन्छ । त्यसैले बिदेशको त्यो बिकसित समाज र सस्कारले आफ्नो एक्लोपनको जिवन र नेपाली समाजमा हुर्केको सोच बिचको संघर्षले सताउछ । यसैलाई ढाकछोप गर्न बोरिड. चरणकै उपाय जस्तै संघसस्था वा सामाजिक सञ्जालमा सकृया, घुमफिर तथा भोजभतेर, घर्मकर्म वा बारम्बार नेपाल भ्रमण आदी हुन सक्छन । कती त बृद्धाआश्रममा बसेर नेपाल सम्झी रहेको हुनुछन । आफ्नो बालापनका साथी, त्यो रमाइलो असभ्य जिन्दगी, आफ्ना आफन्त र चाडपर्व अनी मेला महोत्सव र बिबाह भतेर कार्यक्रमका रमाइलो पल घेरै मिस गरेको त्यागेको दुख लाग्छ । नेपाली समाजमा आफन्त वा आफुलाई चिन्ने मान्ने मान्छेहरुको मर्दा पर्दा सरिक हुन नपाएको अझ भनौ बिबाहमा जन्त जान नपाएको र आफ्ना मर्दा काध थाप्न नपाएको, अन्तिम मुहार हेर्न नमाएको कुराले आखाभरी आसु आउछ । जिन्दगीभर नेपाल र नेपाली समाजलाई गाली गरेर वा हेला गरेर नथाक्नेहरु पनि यस समयमा बास्तवमा नेपाल र नेपाली समाज,सस्कार, सस्कृती नै ठिक रहेछ भन्दै वकालत गर्न पछि प्रदैनन् । बृद्ध अवस्थामा बृद्धाआश्रमको बसाइबाट नेपाल फर्कन सक्ने अवस्था र परिस्थिती पनि हुदैन । नेपाल फर्के अरुले के भन्लान वा सोच्लान भन्ने डर सवैभन्दा बाधक बन्छ । फेरी नेपालमा पनि समय र समाज परिर्वतनले धेरै डाडो काटेको हुन्छ उ उनीहरुको समझ भन्दा बाहिर पुगेको हुन्छ । अर्को तर्फ आत्म मपाइत्व, आफना सन्तान, सम्पत्ती र आधुनिकताको सानो सोचले फर्किन दिदैन । हिन्दु सस्कारले मलामी लस्कर सहित घाटमा जानु पर्नेहरु उता चर्चमा इलेक्ट्रिक शवबहानमा अन्तिम सस्कार जानु अगाडी सम्म नेपाल र नेपालीको मायालाई अन्तरह्दयमा राख्दै बिदा हुन्छन् ।
जियस नेपाली
१२ मंसिर २०८१, बुधबार