barahi

हिमपातले ढोरपाटन सेताम्मे

हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ । बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात हिउँले सडक र गोरेटो पुरिँदा  बाहिर निस्किएर काम गर्न समस्या भएको छ । यसपटकको हिमपात यो वर्षकै ठूलो भएको अदैको भनाइ छ ।

हिमपातका कारण घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्न गाह्रो भएको स्थानीय जीवन अदैले जानकारी दिए । हिमपातले ढोरपाटनवासीको जनजीवन कष्टकर बनेको छ । बिहीबार सामान्य हिमपात भएकामा रातिदेखि भारी हिउँ परेको उनी बताउन्छ ।

“बुधबार साँझदेखि सिमसिम पानी परेर चिसो महसुस भएको थियो, रातिदेखि अलिअलि हिउँ परेको र हिजो (बिहीबार) दिउँसो अलिअलि घाम लागेर हिउँ पग्लिएको थियो तर रातिदेखि भारी हिमपात भएर अहिले ढोरपाटन उपत्यका सबै ढाकिएको छ, वरपर गर्न सक्ने अवस्था छैन”, अदैले भने, “एक साता जति भयो घर्मी बढ्न थालेको थियो, हिउँ परेपछि फेरि चिसो बढेको छ, मंसिर र माघमा पनि हिउँ परेको थियो, यो बेलाको हिउँले बालीनाली राम्रो हुन्छ, तर चिसोले गर्दा घरबाट बाहिर निस्किएर काम गर्न समस्या भएको छ ।”

गत म‌सिर १७ गते ढोरपाटनलगायत आसपासका क्षेत्रमा पहिलोपटक हिमपात भएको थियो भने माघको १८ गते पनि भारी हिमपात भएको थियो । तेस्रोपटकको हिमपातले किसान र ढोरपाटन उपत्यकाका होटल व्यवसायी खुसी भएका छन् ।

ढोरपाटनसँगै बागलुङको उच्चपहाडी क्षेत्र हिउँले ढाकिएका छन् । बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमाना पातीहाल्नेमा पनि बाक्लो हिमपात भएको  छ । हिमपातले जनजीवनमा सामान्य असर परेको छ ।

Leave A Reply

Your email address will not be published.