किसानलाई समयमै मल उपलब्ध गराउन प्रधानमन्त्रीको चासो

मङ्सिरमा चाहिने मलको आँकलन गरेर खरिद प्रक्रिया थाल्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने र व्यावसायिक उत्पादनमा लगाउने विषयमा चासो दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपक्षीमन्त्री रामनाथ अधिकारी र उच्चा अधिकारीसहितको छलफलमा प्रधानमन्त्री ओलीले आगामी मङ्सिरमा चाहिने मलको आँकलन गरेर खरिद प्रक्रिया थाल्न निर्देशन दिएका हुन् ।

मन्त्रालयको कूल बजेटको ५६ प्रतिशत बजेट रासायनिक मल अनुदानमा रहेको बताइएको छ । किसानले किन्ने रासायनिक मलमा ६७ प्रतिशतसम्म अनुदान दिँदै मन्त्रालयले खरिद प्रक्रियालाई सरलीकरण बनाउन प्रधानमन्त्री ओलीसँग आग्रह गरेको थियो ।

प्रधानमन्त्री ओलीले किसानलाई नाफा हुने खालका खेतीमात्रै गर्ने वातावरण सृजनाका लागि उपयुक्त जग्गामा सामूहिक खेती प्रणालीमा जान सुझाव दिए । उनले स्वदेशमा उत्पादन नहुने खाद्य पदार्थ समयमै किनेर ल्याउन आग्रह गरेका छन् ।

उनले पशुपक्षी नेपालभित्र ल्याउँदा र विदेश पठाउँदा स्वास्थ्य जाँच अनिवार्य गराउन, आगामी तीन वर्षभित्र खोरेत रोग उन्मूलन गर्न, कालोबजारी रोक्न, अनुदानको निरन्तरता भन्दा पनि लाभग्राहीले तिर्ने परिपाटीमा जान पनि सुझाव दिएका छन् ।

Leave A Reply

Your email address will not be published.