GIF TIGER CUP

आज २५ औं अन्तर्राष्ट्रिय युवा दिवस, पोखरामा ६ जनालाई सम्मान गरिँदै

पोखरा । २५ औं अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि मनाइँदै छ । ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने नारासहित नेपालमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउन लागिएको हो ।

दिवसको अवसरमा नेकपा एमाले कास्कीले आज पोखरामा एउटा भव्य कार्यक्रमको आयोजना गरेको छ । ‘अघि बढ्छ युवा’ नाम दिएर पार्टीले पोखराको न्यूरोडस्थित सिटी स्क्वायरमा सम्मान, बहस, सांगीति प्रस्तुति र मोटिभेस्नल स्पिचसहितको कार्यक्रम राखेको छ । कार्यक्रम दिउँसो ४ बजे सुरू हुनेछ ।

गायन, स्वास्थ्य, शिक्षा, खेलकुद र कानुन क्षेत्रका गरेर ६ जनालाई सम्मान गर्न लागिएको कार्यक्रम संयोजक एवं एमाले कास्की सचिव दर्शन लामाले जानकारी दिए । सम्मानित हुनेमा नेपाल आइडलका विजेता करण परियार, प्रथम रनरअप सलोमी गुरूङ, राष्ट्रिय भलिबल टोलीकी कप्तान अरूणा शाही, डाक्टर विकास गौचन, प्राध्यापक शुष्मा रञ्जित र अधिवक्ता कुञ्जनी परियार प्यासी छन् ।

GIF TIGER CUP

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले ‘परिवर्तनमा युवा’ शीर्षकमा राजनीतिक वक्तव्य दिने र अधिवक्ता कुञ्जनी परियार प्यासीले आफ्नो न्यायीक यात्राका बारेमा बताउनेछिन् । उनले आफू कसरी अधिवक्ता बनिन्, न्यायीक क्षेत्रको सम्भावना के छ ? युवा कानुन व्यवसायीलाई हेर्ने नजर कस्तो छ ? र कहाँ सुध्रने, को सुध्रने ? बारेमा आफ्नो भनाइ राख्नेछिन् । चार्टर एकाउन्टेन्ट दीपक भुर्तेलले पोखराको आर्थिक सम्भावनाबारे बोल्ने छन् ।

कार्यक्रममा निकेश गिरी र कुशल गौतमले गजल प्रस्तुत गर्ने कार्यतालिका छ । यस्तै, रोहित मल्लले युवाहरुलाई सकारात्मक ऊर्जा प्रदान गर्ने गरेर मोटिभेस्नल स्पिच दिने कार्यक्रम रहेको संयोजक लामाले जानकारी दिए ।

सन् १९९८ अगस्ट ८–१२ तारिखमा संयुक्त राष्ट्रसंघको समन्वयमा पोर्चुगलको लिसवनमा १४० देशका युवा मामिला हेर्ने मन्त्रीहरूको सहभागितामा विश्व सम्मेलन भएको थियो । सम्मेलनले आआफ्ना देशमा राष्ट्रिय युवा नीति तर्जुमा गर्ने साझा प्रतिवद्धता सहित ८८ बुँदे लिसवन घोषणापत्र जारी गरेको थियो । सन् १९९९ को डिसेम्वर १७ मा बसेको राष्ट्रसंघको ५४औं महासभाले उक्त प्रस्ताव अनुमोदन गरेपछि सन् २००० बाट हरेक वर्षको अगष्ट १२ को दिनलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउन थालियो ।

Leave A Reply

Your email address will not be published.