काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नदेखि शनिबार नेपालका धेरै भागमा मौसम बदली हुने बताएको छ । बिहीबार विभागले विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार साँझबाट नेपालको धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना रहेको जनाएको हो ।
विभागले सो प्रणालीको प्रभावका कारण शनिवारसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानसहित गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात समेत हुनसक्ने जनाएको छ । साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरू र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
‘उक्त मौसम प्रणालीको असरले तापक्रम समेत घट्न गई चिसो बढ्न सक्ने सम्भावना रहेको छ,’ विभागले सचेत गराएको छ ।