barahi

आजदेखि २६ औँ संस्करणको पोखरा सडक महोत्सव

पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराको आयोजनामा शनिबारदेखि पोखरामा २६ औँ संस्करणको पोखरा सडक महोत्सव सुरु हुँदैछ । महोत्सवको नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।

मध्यान्ह १२ बजेपछि कोमागाने पार्कमा हुने उद्घाटन समारोहअघि खहरेबाट विभिन्न जातजाति, ६० भन्दा बढी आमा समुह, पर्यटनसम्बद्ध विभिन्न संघसंस्था लगायतको उपस्थितिमा साँस्कृतिक झाँकीसहित र्‍याली निस्कने महोत्सव संयोजक विकास भट्टराईले जानकारी दिए । ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ पोखराको लेकसाइड क्षेत्रको करिब तीन किलोमिटर क्षेत्रमा महोत्सव हुँदै छ । कला संस्कृति प्रवर्द्धन गर्न, स्थानीयस्तरमा उत्पादित सामग्रीलाई बजारीकरण र त्यसको प्रचारप्रसार तथा ब्रान्डिङ गराउने एउटै थलोका रूपमा पोखरा सडक महोत्सवलाई लिइन्छ ।

आयोजक समितिका अध्यक्ष विश्वराज पौडेलका अनुसार महोत्सव सफल पार्न गठित विभिन्न समिति, उप–समितिले आ–आफ्नों तयारी पुरा गरेका छन् । महोत्सव तयारीका लागि रेवान पोखराले सुरक्षा परिषद् बैठक, स्वास्थ्य समितिको बैठक, साँस्कृतिक समूहको बैठकलगायतका बैठकहरू सम्पन्न गरेको थियो ।

Sadak 1

महोत्सवको अवसरमा सडकमा मःम खाने प्रतियोगिता, रस्साकसी, वेटर वेट्रेसहरुको चम्चा दौड, डुङ्गा दौड लगायत प्रतियोगिता हुनेछन् । अघिल्लो संस्करणमा जस्तै यसपटक पनि पर्यटनका बारेमा जानकारी सहितको सडक संवाद कार्यक्रम हुने रेवान पोखराका उपाध्यक्ष बसन्त गौतमले जनाए । उनका अनुसार अम्बोटमा दुई दिनसम्म सडक संवाद कार्यक्रम चल्ने छ ।

महोत्सवमा मुख्य आकर्षणका रूपमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक वेशभूषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट रहेका छन् ।

महोत्सवको प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र पोखरा पर्यटन परिषद् रहेका छन् । विगत २५ वर्षदेखि निरन्तर रूपमा हुँदै आएको पोखरा सडक महोत्सव देशकै ठूलो महोत्सवका रूपमा रहँदै आएको छ ।

विगतजस्तै यस वर्ष पनि झण्डै पाँच लाख पर्यटकले महोत्सव भ्रमण गर्ने अनुमान छ । महोत्सव १७ पुससम्म चल्ने छ ।

Leave A Reply

Your email address will not be published.