पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सरकारी वकिलको तर्फबाट बहस सकिएको छ । प्रतिवादी बनाइएहरुकालाई थुनामा राख्न माग गर्दै गत मंगलबारबाट सुरु भएको बहस दुई दिन चल्यो । न्यायाधीश नीतिज राईको इजलासमा मंगलबारबाट सरकारी वकिलको थुनछेक बहस सुरु भएको थियो ।
थुनछेक बसहमा बुधबार सरकारी वकिलका तर्फबाट सहायक जिल्ला न्यायाधिवक्ताहरु सुजाता पौडेल, शान्तिदेवी शर्मा र विपिनराज तिवारी र जिल्ला न्यायाधिवक्ता कमला काफ्ले बहस गरे । मुख्यन्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता प्रकाश गौतमले पनि बहस गरे।
बिहीबारबाट जाहेरवालाको तर्फबाट बहस हुनेछ । जाहेरवालाको पनि बहस सकिएपछि प्रतिवादी बनाइएका ७ जनाका कानुन व्यवसायीले बहस गर्ने तयारी छ । यो सकिएपछि उच्च सरकारी वकिल कार्यालयका वकिलले जवाफी बहस गर्ने जनाइएको छ । त्यसपछि न्यायाधीश नीतिज राईको इजलासले प्रतिवादीलाई थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय लिनेछ ।
सरकारी वकिलहरुले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा०का सभापति रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईं, आरती गुरुङ, पूर्वसांसद मीना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङ थुनामै राख्न माग गर्दै बहस गरेका थिए । सूर्यदर्शन सहकारी ठगीमा ६३ जनालाई विपक्षी बनाइएको छ ।
उनीहरूसँग १ अर्ब ५१ करोड बिगो माग गरिएको छ । ४४ जना विरुद्ध सरकारी वकिल कार्यालयले पूरक अभियोग पत्र दर्ता गरेको थियो। ४४ मध्ये ८ कम्पनी, ३१ जना व्यक्ति, ८ संस्था र ५ जनाको सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाई मुद्दा दर्ता गरिएको छ । सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जिबीसहित १९ जनाविरुद्ध त्यसअघि नै जिल्ला अदालतमा मुद्दा विचाराधीन छ ।