पोखरा । पोखरा हुने चर्चित भलिबल प्रतियोगिता टाइगर कपको पाँचौं संस्करणको जिम्मेवारी रामकृष्ण ज्ञवालीले पाएका छन् ।
टाइगर ग्रुप अफ पोखरा नेपालको बुधबार बसेको बैठकले पाँचौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगिता–२०८१ को संयोजकमा मनोनयन गर्ने निर्णय गरेको हो । ज्ञवाली टाइगर ग्रुप अफ पोखरा नेपालको संस्थापक कार्यसमिति सदस्य हुन् ।
संयोजकको जिम्मेवारी पाएका ज्ञवाली पोखराबाट प्रकाशन हुने लोकप्रिय पत्रिका समाधान दैनिकका प्रधान सम्पादक हुन् । ज्ञवाली नेपाल पत्रकार महासंघ कास्कीको पूर्वअध्यक्ष पनि हुन् ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा आउँदो माघ १२ देखि १९ गतेसम्म पाँचौं संस्करण हुँदैछ । प्रतियोगिता पोखरा रंगशालामा हुनेछ । पाँचौं संस्करणलाई टेलिकम्युनिकेसनमा देशकै स्थापित संस्था एनसेलले मुख्य प्रायोजन गरेको छ ।