barahi

१३ औं संस्करणको पोखरा महोत्सव सुरु

चार जनालाई सम्मान

पोखरा । युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंह चौरमा १३ औं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । माघ ७ गतेसम्म चल्ने महोत्सवको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार उद्घाटन गरे ।

मन्त्री गुरुङले खुल्ला चिडियाखाना निर्माणको थालनी गरेर क्लबले गरेको सामाजिक कामको प्रशंसा गरे । नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले पर्यटनको राजधानी घोषणा भइसकेको पोखरामा धेरैभन्दा धेरै पूर्वाधार बन्नुपर्नेमा जोड दिए । पर्यटकीय राजधानी घोषणा गरिदिएर मात्र नहुने बताउँदै त्यसको पुर्वाधार निर्माणका गाली गण्डकी प्रदेश सरकार र पोखरा महानगरले समेत पूर्वाधारका कामहरु गर्नुपर्नेमा उनको जोड थियो ।

गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले युनाइटेड क्लबको पहलकदमीमा पोखराको लेखनाथस्थित पचभैया क्षेत्रको सामुदायिक वनमा निर्माणाधिन अवस्थामा रहेको चिडियाखाना निर्माणमा गण्डकी प्रदेश सरकार सहयोग गर्न प्रतिबद्ध भएर अगाडी बढेको बताए । पोखरामा खुल्ला चिडियाखाना निर्माणमा क्लबले पहलकदमी गरेको र उक्त कार्यलाई गण्डकी प्रदेश सरकारले साकार पारेरै छाड्ने उनको भनाइ रहेको थियो ।

Sadak 1

प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङले युनाइटेड क्लबको सामाजिक कामको प्रशंसा गरे । क्लबले महोत्सवको आयोजना गरी सामाजिक काममात्र नभई पर्यटन प्रवर्द्धन र शिक्षाको क्षेत्रमा पुर्‍याएको उनले बताए ।

गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर गुरुङले युनाइटेड क्लबले अहिलेसम्म गरेको कार्यको प्रशंसा गर्दै अन्य संघसंस्थाले समेत यसको सिको गर्नुपर्ने बताए ।

चार जनालाई सम्मान

वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै ४ जनालाई महोत्सव उद्घाटन कार्यक्रममा सम्मान गरिएको छ । पत्रकार कृष्णमणि बराल, भ्लगर सञ्जय पुन, पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने चन्द्रकान्त बराल र प्रेमबहादुर जिसी सम्मानित भएका हुन् । उनीहरुलाई मन्त्री गुरुङ, क्लबका अध्यक्ष लोकबहादुर थापालगायतले दोसल्ला र सम्मान पत्रसहित सम्मान गरे ।

महोत्सवअघि पोखरा रंगशालादेखि महोत्सव स्थलसम्म विभिन्न आमा समूह, क्लबसहित ३ सयभन्दा बढी संघसंस्थाको सहभागितामा झाँकी निकालिएको थियो । झाँकीतर्फ नेपाल मगर संघ इकाइ समिति पोखरा १५ प्रथम, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय द्वितीय, क्षेत्री समाज नेपालको (सराङ नाच) तृतीय र सिद्धेश्वर भजन मण्डल पोखरा १५ सिद्धेश्वर भजन समुह पोखरा १५ सान्त्वना भए ।

र्‍यालीतर्फ स्वर्णिम टोल महिला समूह पोखरा-१० प्रथम, सानी मझुवा आमा समूह पोखरा-१५ द्वितीय, सिमलमार्ग टोल विकास संस्था पोखरा-१० तृतीय र रुकुमेली एकता समाज सान्त्वना भए ।

महोत्सव मुल आयोजक समितिका संयोजक लोकबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य दामोदर बैरागी, रुपा गाँउपालिकाका अध्यक्ष नवराज ओझा, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, राष्ट्रिय प्रकृति तथा वित्त आयोगका सदस्य जुद्ध बहादुर गुरुङ, बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडका लेखा समिति संयोजक तथा आर केडी होल्डिङ कम्पनी लिमिटेडका सञ्चालक धर्मराज भण्डारी, गण्डकी प्रदेश प्रेस रजिष्टार विमला भण्डारी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कन्चन थापा लगायतले बोलेका थिए ।

युनाइटेड क्लबका महासचिव तथा पोखरा महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिए ।

Leave A Reply

Your email address will not be published.