
काठमाडौं । कास्की जिल्ला अदालतबाट बिहीबार ६५ लाख धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने सडक मार्गबाट काठमाडौं गएका छन् ।
शुक्रबार दिउँसो हवाई मार्गबाट काठमाडौं फर्किने तयारी रहेको भए पनि लामिछाने स्वइच्छाले सडक मार्गबाट काठमाडौं गएका हुन् । लामिछाने आइतबार बिहान साढे ८ बजे नै काठमाडौं जिल्ला अदालतमा हाजिर हुने रास्वपा नेता दीपक बोहोराले जानकारी दिए ।
सहकारी ठगीको अनुसन्धानका लागि गत कात्तिक २ गते पक्राउ परेका लामिछाने बिहीबार धरौटीमा रिहा भएका थिए ।

काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगीमा रविलगायतलाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ । रवि उपस्थित भएपछि आइतबार नै अदालतमा बयान सुरू हुनेछ ।