लेखनाथ । २० औँ संस्करणको लेखनाथ महोत्सव मंगलबार सकिएको छ । पुस १८ गतेबाट लेखनाथमा सुरु भएको महोत्सव मंगलबार सकिएको हो ।
लक्ष्यभन्दा बढी दर्शकहरुले महोत्सवको अवलोकन गरेको दाबी आयोजकको छ । महोत्सव अवधिभर ९ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको र ३ लाखभन्दा बढी दर्शकले अवलोकन गरेको प्रचारप्रसार संयोजक जानुका पराजुलीले दाबी गरिन् ।
समापन समारोहलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महोत्सव अत्यन्त भव्यताका साथ सफल भएकोमा आमदर्शक र आयोजकलाई धन्यवाद दिए । महोत्सवमा राखिएको गौतम बुद्धको मूर्तिलाई उपयुक्त स्थानमा व्यवस्थित गरिने उनले बताए । बेगनास तालको वाटर स्पोर्टस्, पोखराको प्रवेशद्वारमा रहेको हेल्मेट डाँडालगायत विभिन्न परियोजना सफल पार्न लगानीका लागि निजी क्षेत्रलाई आग्रह गरे ।

रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा, गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारी, संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठलगायतले बोलेका थिए ।
हाजिरीजवाफ प्रतियोगिता, रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय कार्यक्रम, साँस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, नृत्य प्रदर्शनी, झाँकी तथा भेषभुषा प्रदर्शनी, हाँस्य व्यङ्ग्य कलाकारहरुको दैनिक प्रस्तुति, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, राष्ट्रिय उत्पादन प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, बाल उद्यान, खानाका परिकार, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, लाइभ कन्सर्ट महोत्सवको आकर्षण थिए ।
महोत्सवबाट हुने बचत रकमबाट प्रस्तावित औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग र विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले बताएको छ ।