कोटि होम १

पोखरामा माघ ११ गतेदेखि नाटक ‘सपना डिलक्स कोच’ मञ्चनको तयारी

पोखरा । पोखरामा नयाँ मौलिक नाटक ‘सपना डिलक्स कोच’ मञ्चन हुने भएको छ । यही माघ ११ गतेदेखि सपना डिलक्स कोचको मञ्चन सुरु हुने जनाइएको छ । यतिबेला नाटकको रिहर्सल पोखरा नदीपुरस्थित निर्माणाधीन हंसध्वनि नाटक घरमा भइरहेको छ । उक्त नाटकघर चर्चित कलाकार अनुप बरालको सक्रियतामा निर्माण भइरहेको छ ।

नाटकको प्रदर्शन इन्द्रेणी थिएटरले गर्ने थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिए । नाटक पौडेलले नै लेखेका हुन् । झण्डै एक वर्षअगाडि लेखेको नाटकमा पोखराबाट काठमाडौं जाने यात्रुबाहक बसमा हुने विभिन्न क्रियाकलापलाई समेटिएको छ । एउटा परिवारले सामान्य हिसाबले कसरी गाडी चलाएर जीविकोपार्जन गरिरहेको छ र त्योभित्र कस्ता खालका समस्या छन् भन्ने बारेमा दर्शकलाई यो नाटकले जानकारी दिने छ ।

Nawa Srijana

आफूलाई पोखराबाट काठमाडौं जाने क्रममा देखेका दृष्यलाई मञ्चमा उतार्न लागेको लेखक पौडेलले बताए । सबै मानिस बस चढेर गन्तव्यमा पुगेपनि यसरी गन्तव्यमा पुर्‍याउने बस र त्यसका कामदारका समस्या के हुन् भन्ने यात्रुले खासै ध्यान नदिने गरेको अवस्थामा नाटकमार्फत बाहिर ल्याउन लागिएको उनको भनाइ छ ।

करिब एक महिनादेखि नाटकको रिहर्सल भैरहेको छ । पोखराको गैह्रापाटनस्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा माघ १९ गतेसम्म मञ्चन हुने नाटकमा कपिल शर्मा, दिलप्रसाद गुरुङ, विभु प्रसाद भुसाल, उमा पुन, रामहरि अधिकारी, विजयराज अधिकारी, अभिषेक भुसाल, श्रद्धा अधिकारीलगायत कलाकारको अभिनय हेर्न पाइने छ ।

यो नाटकको निर्देशन लक्ष्मण डुम्रेले गर्दै छन् । निर्देशक डुम्रेले नाटक सुन्दर बनाउन कलाकार र नेपथ्यबाट विभिन्न प्रयास भइरहेको बताए । आफूहरूको तर्फबाट शतप्रतिशत दिने कोसिस गरिरहेका भन्दै दर्शकले नाटक मन पराउने आशा उनले सुनाए ।

सामुदायिक प्रहरी
अख्तियार अनुसन्धान
Leave A Reply

Your email address will not be published.