काठमाडौँ । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन् । उनलाई दक्षिण कोरियाको प्रहरीले बुधबार गिरफ्तार गरेको हो । प्रहरीले उनलाई सयलस्थित निवासबाटै पक्राउ गरेको हो ।
योलले ३ डिसेम्बरमा सैनिक कानुन लगाउने घोषणा गरेका थिए । तर, त्यसको चौतर्फ विरोध भएपछि केही घण्टामै उनी आफ्नो कदम फिर्ता लिन बाध्य भएका थिए । दक्षिण कोरियाको जाँच एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले अनुसन्धानकर्ताहरूले स्थानीय समयअनुसार बिहान ७:२३ मा पक्राउ पुर्जी कार्यान्वयन गरेको जनाएको छ ।
योल पक्राउ पुर्जी जारी हुने दक्षिण कोरियाका पहिलो राष्ट्रपति हुन् । मुलुकमा सैन्य शासन लगाएपछि दक्षिण कोरियाको संसदले उनीविरुद्ध महाभियोगको प्रस्ताव पारित गरेको थियो । महाभियोगको प्रस्ताव पारित भएसँगै उनी पदबाट निलम्बित भएका थिए ।
प्रहरीले यसअघि पनि योललाई पक्राउ गर्ने प्रयास गरेको थियो । करिब ६ घण्टा लामो प्रयसा गर्दा पनि प्रहरी उनलाई पक्राउ गर्न असफल भएको थियो । त्यसपछि प्रहरीले त्यसबेला योललाई पक्राउ गर्ने कदम रोकेको थियो ।
त्यसबेला युनको सुरक्षामा रहेको सेनाको टोलीले मानव पर्खाल बनाएर पक्राउ गर्न आएका प्रहरीको बाटो छेकेको कोरियाली समाचार संस्था योन्हापले जनाएको थियो । तर, यसपटक भने प्रहरीले उनलाई पक्राउ गरेको छ ।