काठमाडौं । आइसीसी यू-१९ महिला टी-२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाललाई बंगलादेशले ५ विकेटले हराएको हो ।
नेपालले दिएको ५३ रनको लक्ष्य बंगलादेशले १३.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । बंगलादेशका लागि सादिया अक्तरले १६ रन बनाइन् । कप्तान सुमैया अक्तरले १२ रन बनाइन् भने अफिया अशिमाले अविजित ९ रन बनाइन् ।
नेपालका लागि रचना चौधरी, रिया शर्मा, पुजा महतो र सिमाना केसीले एक-एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १० बल अगावै ५२ रनमा अलआउट भएको थियो । नेपालका लागि सना प्रवीनले सर्वाधिक १९ रन बनाइन् । सिमाना केसीले १० रन बनाइन् ।
बंगलादेशका लागि जन्नतुल माउवाले २ विकेट लिँदा फाहोमिदा चोया, निशिता अक्तर र अनिसा अक्तरले १-१ विकेट लिए । नेपालका पाँच ब्याटर रनआउट भएका थिए ।
समूह डी मा रहेको नेपालले अब अस्ट्रेलिया र स्कटल्यान्डसँग खेल्न बाँकी छ । यो समूहमा अस्ट्रेलिया र बंगलादेशले एक एक जित हात पारेका छन् भने नेपाल र स्कटल्यान्ड पराजित भएका छन् । हरेक समूहबाट शीर्ष दुई टिम अघिल्लो चरणमा जानेछन् । अघिल्लो चरणमा जान नेपालले अब अस्ट्रेलिया र स्कटल्यान्डसँग जित हात पार्नुपर्ने अवस्था आएको छ ।
नेपाली महिला टिमले पहिलो पटक विश्वकप खेलेको हो। नेपालले सोमबार स्कटल्याण्डसँग र बुधबार अस्ट्रेलियासँग खेल्नेछ ।