विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि झापामा आक्रमण भएको छ ।
नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको कार्यक्रमबाट फर्कने क्रममा उनीमाथि सुरुङ्गा नजिकै आक्रमण भएको प्रहरीले जनाएको छ । आक्रमणबाट उनको निधारमा चोट लागेको छ । थापा बिर्तासिटी अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।
निर्माणाधीन पूर्वपश्चिम राजमार्गमा भीआईपी गाडीले ओभरटेक गर्न खोज्दा आक्रमण भएको प्रहरीले बताएको छ ।
थापामाथि आक्रमण गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरू नेपाल विद्युत् प्राधिकरणका कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दले जानकारी दिए ।
बा १ झ ६५३ नं को गाडीमा सवार थापामाथि बा १ ञ १८७० मा सवार विद्युत् प्राधिकरणका चालक र सहयोगी कर्मचारीले आक्रमण गरेका थिए ।
पक्राउ पर्नेमा विद्युत् प्राधिकरण सुरुङ्गाका चालक शिवसताक्षी नगरपालिका ११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कन्काई नगरपालिका ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ रहेका छन् ।