काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालको शपथ लिएका छन् । वासिङटन डीसीस्थित यूएस क्यापिटल वन एरेनामा आयोजित कार्यक्रमबीच प्रधानन्यायाधीश जोन रोबर्टसले ट्रम्पलाई शपथ दिलाए ।
रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनेका ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गर्दै ४७औँ राष्ट्रपति चुनिएका हुन् ।
राष्ट्रपतिका रूपमा ट्रम्पको यो दोस्रो कार्यकाल हो । यसअघि सन् २०१६ मा उनी राष्ट्रपति निर्वाचित भएका थिए ।

शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति जो बाइडेन, पूर्वराष्ट्रपतिहरू, उपराष्ट्रपति, मनोनीत गरिएका मन्त्रीहरू तथा उच्चपदस्थ अधिकारीहरू उपस्थित थिए ।
अत्यधिक चिसोका कारण यसपटक शपथ ग्रहण समारोह खुला स्थानमा आयोजना गरिएन ।
ट्रम्पले शपथ ग्रहणसँगै अमेरिका–मेक्सिको सीमामा ‘राष्ट्रिय संकटकाल’ घोषणा गर्ने, केही ड्रग्स तस्करलाई आतंकवादी घोषणा गर्ने र सरकारी विविधता कार्यक्रमहरू खारेज गर्ने तयारी गरेका समाचार आइरहेका छन् ।
शपथलगत्तै समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकाको स्वर्ण युग सुरु भएको बताए । शान्ति निर्माणकर्ता र एकीकरणकर्ताको रूपमा अमेरिकाले पुनः संसारलाई नेतृत्व गर्ने विश्वास दिलाउँदै उनले भने, ‘यो देश फस्टाउने छ र सम्मानित हुनेछ ।’
ट्रम्पले दक्षिणी सिमानाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय आपतकाल घोषणा गर्ने आदेशमा पनि हस्ताक्षर गरेका छन् । जसले सीमा पर्खाल निर्माणका लागि सशस्त्र बल तैनाथ गर्न अनुमति दिन्छ ।
ट्रम्पले आप्रवासनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । जसले आप्रवासन नियन्त्रणलाई कडा बनाउनेछ ।
ट्रम्पले पुटिनसँग भेट्ने बताएका छन् । उनी युक्रेन युद्ध अन्त्य गर्न चाहन्छन् । राष्ट्रपति ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने प्रक्रिया शुरू भइसकेको र कुराकानीको व्यवस्था भइरहेको बताए ।
उम्मेदवारका रूपमा उनले पद सम्हालेको २४ घण्टाभित्र युक्रेन युद्ध समाप्त गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले अझै आधा दिन बाँकी रहेको बताए ।
ट्रम्पले क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमाथि फेब्रुअरी १ देखि नयाँ शुल्क लगाउने घोषणा गरेका छन् । अमेरिका छिमेकीहरूबाट आयात हुने सामानमा २५ प्रतिशत शुल्क लगाउने सोचमा रहेको बताए ।
उनले जन्मसिद्ध नागरिकता समाप्त गर्ने कार्यकारी आदेशमा पनि हस्ताक्षर गरेका छन् ।
ट्रम्पले जनवरी ६ का हिंस्रक प्रदर्शनकारीलाई सामूहिक क्षमादान दिएका छन् । ट्रम्पले यूएस क्यापिटल हिंसामा संलग्न १५०० जनालाई सामूहिक माफी दिएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट अलग गर्ने आदेश जारी गरेका छन् ।
यो आदेशमा हस्ताक्षर गर्दा ट्रम्पले भने, ‘यो ठूलो निर्णय हो।’ अन्य देशहरूको तुलनामा अमेरिकाले यसको लागि ठूलो अनुचित मूल्य चुकाएको उनको भनाइ छ । यो आदेशपछि अमेरिका विश्व स्वास्थ्य संगठनको सदस्यताबाट बाहिरिने छ।
ट्रम्पले पेरिस जलवायु सम्झौताबाट पनि फिर्ता हुने घोषणा गरेका छन् । उनले पेरिस जलवायु सम्झौताबाट बाहिरिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।