GIF TIGER CUP

पोखरामा व्यापार मेला सुरु, मुख्यमन्त्रीले भने : मेलाको नाममा पैसा बाहिर जानु भएन

पोखरा । पोखरामा ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१, १२ औं क्यान इन्फोटेक २०२५ तथा चौँथो मोबाइल एक्सपो २०२५ सुरु भएको छ ।

पोखरा उद्योग वाणिज्य संघ आयोजक रहेको मेलाको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार उद्घाटन गरे । मुख्यमन्त्री पाण्डेले हातमा रहेको स्वीच दबाएपछि मञ्चको अगाडि रहेको बत्ति स्वतः बलेको थियो । बाल्नको लागि लाइटर वा सलाई प्रयोग गर्नै नपर्ने, नजिक जानै नपर्ने त्यो बत्तिको निर्माण इञ्जिनियर कापलिक खनालले गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेले पोखरा उद्योग वाणिज्य संघले सातवटै प्रदेशको उत्पादन, कला–संस्कृति एवं खानाको प्रदर्शनको सुरुवात गरेकोमा खुसी व्यक्त गरे । उनले गण्डकी प्रदेशमा दुईवटा क्षेत्रमा औद्योगिक क्षेत्र खोल्ने भनिए पनि जग्गा प्राप्ति समयमै नहुँदा काम रोकिएको र अब काम अगाडि बढेको जानकारी गराए । निजी क्षेत्रसँगको सहकार्य बिना समृद्धि प्राप्त नहुनेमा आफू प्रष्ट रहेको बताउँदै उनले वातावरण निर्माणमा लाग्ने प्रतिवद्धता पनि जनाए । संघीय सरकारले अध्यादेशमार्फत् निजी क्षेत्रलाई सहज हुने गरी वातावरण निर्माण गरेको र त्यसले सिथिल अर्थतन्त्र उकासिने पनि मुख्यमन्त्री पाण्डेको धारणा थियो ।

GIF TIGER CUP

उनले मेलाको नाममा स्थानीय जनताको पैसा बाहिर जानु स्थानीयको लागि न्यायोचित नभएको पनि बताए । ‘कति मान्छे आए, कति आम्दानी भयो भन्नेतिर नलाग्नुहोस् । त्यता लाग्ने हैन । कि मनोरञ्जन मेला भन्नुपर्‍यो । व्यापार मेला भनेपछि स्थानीय उत्पादनको प्रदर्शन हुनुपर्छ । यहाँ मधेश प्रदेशबाट सांस्कृतिक कार्यक्रम आएको रहेछ । हामीले दुईवटा नाच हेर्‍यौँ । हाम्रो लागि नयाँ अनुभव भयो । यो हेरेपछि हामीले पनि अन्य प्रदेशमा एउटा स्टल राख्ने, हाम्रा उत्पादन देखाउने, यहाँको संस्कृति देखाउने र पर्यटन प्रवर्द्धन गर्ने काम गरिनुपर्छ । हामी यसमा सहकार्य गर्न चाहन्छौँ,’ उनले भने, ‘हाम्रो परम्परागत शैली के छ भने, राष्ट्रिय कलाकार भनेर बाहिरबाट मान्छे बोलायो । पोखरेली जनताको पैसा आएको जति बुझाएर पठाइदियो । पिङ भन्यो, डुंगा दौड भन्यो यताको पैसा उता पठाइदियो । यस्तो हुनुहुँदैन ।’

गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पोखराबाट अन्तर्राष्ट्रिय उडानको लागि प्रदेश सरकार क्रियाशील रहेको बताए । उनले पुँडीटारमा निर्माणाधीन औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको पनि जानकारी गराए । गण्डकी सरकार उद्योग र पर्यटनको विकासलाई विशेष जोड दिएको जिकिर गर्दै उनले उद्योगमार्फत् हुने उत्पादनले मात्र देश समृद्ध बन्ने कुरामा आफू प्रष्ट रहेको पनि सुनाए ।

पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले सूचना प्रविधिले संसारलाई साँघुरो बनाएको अवस्थामा मेला र महोत्सवले व्यवसाय प्रवर्द्धन गरोस् तथा नयाँ सूचना पस्कने ठाउँ बनोस् भन्ने आफ्नो चाहना रहेको सुनाए ।

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले गण्डकी प्रदेश र पोखराको व्यवसाय विस्तारको सम्भावनाको खोजी एवं गण्डकी प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यले मेला आयोजना गरेको बताए । उनले गण्डकी प्रदेश सरकारले अगाडि सारेको दोस्रो पञ्चवर्षीय योजनामार्फत् ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासी’को लक्ष्य प्राप्तीमा समर्पित रहेको पनि प्रष्ट पारे । अध्यक्ष कार्कीले सरकारले हालैमात्र अध्यादेशमार्फत् निजी क्षेत्रले उठाउँदै आएका केही मागहरु सम्बोधन गरेको भन्दै खुसी व्यक्त गरे । ‘पछिल्लो समय देखिएको युवा पलायन र निराशालाई बेलैमा संवोधन होस् भन्ने आम नागरिकको चाहना पनि संवोधन गर्नैपर्ने देखिएको छ । राजधानी कस्तो छ भन्ने कुराले त्यो देश वा प्रदेशको अवस्था झल्काउँछ । अन्तर्राष्ट्रिय पर्यटकीय सहरको रुपमा दर्ज भएको पोखरालाई समुन्नत, सुसम्भय र भोतिक रुपले अझ राम्रो बनाउनेतर्फ काम होस् भन्ने पनि हामीले चाहेका छौँ,’ उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृतकुमार भट्टचनले देशमा ठूला परिवर्तन भए पनि आर्थिक क्रान्ति हुन नसकेको बताए । ‘हामी स्थिर सरकार चाहन्छौँ। । नेपालको कुल ग्राहस्थ उत्पादनमा ८० प्रतिशतको योगदान गर्ने निजी क्षेत्र प्रताडित भइरहेको छ, अहिले बजार सुस्ताएको छ,’उनले भने,‘ नेपाल र गण्डकी प्रदेश सरकारले अर्थतन्त्र उकास्नेतर्फ ध्यान दिनुपर्छ ।’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुन नसक्नु तथा गण्डकीको कान्छो जिल्ला नवलपुरसम्म पुग्ने सडक नबन्नु दुखदायी भएको उनको भनाइ थियो ।

पोखरा आद्योगिक क्षेत्र उद्योग संघ, क्यान कास्की, नेपाल मोबाइल वितरक संघ एवं सिएसआइटी फाउण्डेनसँगको सहकार्यमा संघले मेला आयोजना गरेको हो । मेलामा सात वटै प्रदेशका उत्पादनको प्रदर्शनीका अलावा औद्योगिक उत्पादन, घरायसी सामान, कम्प्यूटर र मोबाइल, पुष्प प्रदर्शनीलाई पनि समेटिएको छ । सूचना प्रविधिबारेको जानकारी पस्कनु मेलाको मुख्य उद्देश्य रहेको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमको भनाइ छ ।

गण्डकी प्रदेशमा रहेका ठूला, मझौला र साना उद्योगको उत्पादन, रोजगारी सिर्जना, नयाँ सम्भावनाको खोजी, प्रविधि र अरु ठाउँमा भइरहेका असल अभ्यासलाई समावेश गर्ने सक्दो प्रयास गरिएको आयोजकले जनाएको छ । प्रचार–प्रसार संयोजक तथा सङ्घका कार्यसमिति सदस्य मनोहरि पौडेलका अनुसार मेलामा विश्वस्तरमा चल्तीमा रहेका आर्टीफिसियल इन्टलिजेन्स (एआई), उन्नत सीसी टीभी सर्भिलेन्स पनि उपलब्ध हुनेछन् । मेला आउँदो २१ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा चल्नेछ ।

Leave A Reply

Your email address will not be published.