पोखरा । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान भएको छ ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकारको सिफारिसअनुसार माघ २१ गते सोमबार दिउँसो २ बजे बस्ने गरी अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिए ।
गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ २१ गते संसद बैठक डाक्न प्रदेश प्रमुख भट्टसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रदेश सभाको बर्खे अधिवेशन असोज ८ गते अन्त्य भएको थियो । प्रदेश सभाका विषयगत समितिमा २ वटा विधेयक विचाराधीन रहे पनि यसबीचमा सरकारले थप विधेयक दर्ता गराएको छैन ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हिउँदे अधिवेशनमा कम्तीमा पनि १० वटा विधेयक पारित गर्ने गरी सरकारले तयारी गरेको सार्वजनिक लेखा समितिको केही सयमअघिको बैठकमा जानकारी गराएका थिए ।