GIF TIGER CUP

टाइगर कप भलिबल : एपीएफ र ट्राभल इन्क्वारीबीच पहिलो खेल

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो खेल महिलातर्फ डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपीएफ) र ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्डबीच हुने भएको छ ।

शुक्रबार साँझ सार्वजनिक खेल तालिकाअनुसार पहिलो खेल महिलातर्फ एपिएफ र ट्राभल इन्क्वारीबिच शनिबार बिहान १० बजे हुनेछ । पहिलो दिन हुने तीन वटै खेल महिलातर्फ हुने आयोजकले जनाएको छ ।

दोस्रो खेलमा टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब र नेपाल पुलिस क्लबले प्रतिष्पर्धा गर्ने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । त्यसपछि दिउँसो साढे एक बजे प्रतियोगिताको उद्घाटन सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नेछन् । पहिलो दिनको तेस्रो तथा अन्तिम खेल आयोजक टोली र त्रिभुवन आर्मी क्लबबीच दिउँसो ३ बजे सुरु हुनेछ ।

GIF TIGER CUP

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुन लागेको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ । प्रतियोगितामा २ विदेशी टोलीसहित महिला र पुरुषतर्फ ६–६ टोलीले सहभागिता जनाएका छन् । विदेशी टोलीमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्ड र पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिम सहभागी छन् ।

पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले सहभागी हुँदैछन् । महिलातर्फ सहभागी टोलीमा नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल छन् ।

प्रतियोगिताका विजेता टोलीले समान ५ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् । उपविजेताले समान २ लाख ८५ हजार ५५५ र तृतीय हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने छ ।

Leave A Reply

Your email address will not be published.